७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


नेपाली भूमि प्रवेश गरेका भारतीय ५२ ट्रक चालकलाई कारबाहीको माग


6.799k
Shares

प्रकाश लम्साल-संवाददाता

बारा । नेपाली ट्रक चालकहरुले भारतीय ५२ वटा ट्रक चालकहरुलाई बाराको सिमरामा रोकेर कारबाहीको माग गरेका छन् ।

उनीहरुले वीरगञ्ज भन्सार हुँदै ओभरलोड बोकेर देशका विभिन्न स्थानमा जान लागेका ५२ वटा ट्रक चालकहरुलाई कारबाहीको माग गरेका हुन् । पथलैयास्थित राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालयले विगत ५ महिना यता मिलेमतोमा ओभरलोडका भारतीय ट्रकलाई कारबाही नगरेपछि नेपाली ट्रक चालकहरु आक्रोशित बनेका थिए । उनीहरुले ट्रक काम विहीन हुनुपरेको गुनासो समेत गर्दै आएका थिए ।

ट्रक चालक कमिटी बाराका अध्यक्ष नवराज कार्कीले ट्राफिक प्रहरीको सेटिङमा ओभरलोडका भारतीय गाडीहरु निर्बाध रुपमा संचालन भएपछि ट्रकचालक बेरोजगार हुन थालेका कारण अभियानकै रुपमा ओभरलोडका गाडी रोक्न थालेको बताउनुभयो ।

८० टनसम्म अलकत्रा, मार्बल, प्लेट तथा कच्चा पदार्थ बोकेका उक्त ट्रकहरुलाई इलाका प्रहरी कार्यालय सिमराले यातायात ब्यवस्था ऐन अनुसार कारबाही गर्न यातायात ब्यवस्था कार्यालय पठाउने प्रहरी निरीक्षक उमाशंकर साहले बताउनुभयो ।

ओभरलोडकै कारण विवादित बनेका पथलैया ट्राफिक ब्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालविरुद्ध मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा ३५ वटा उजुरी परेको छ । त्यसपछि वरिष्ठ प्रहरी उपरीक्षक कमल थापाको संयोजकत्वमा छानबिन समिति समेत बनेको हो ।