
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले उपसभामुख इन्दिरा राना मगरलाई अविश्वास प्रस्तावमार्फत हटाउन खाली कागजमा हस्ताक्षर गरेकोप्रति सत्तारुढ दलहरुप्रति कटाक्ष गर्नुभएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद कार्कीले नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराएर नाटक रचिएको टिप्पणी समेत गर्नुभएको हो । त्यसपछि नेकपा एमालेका सांसद सूर्य थापाले नियमापत्ति जनाउनुभएको थियो । सांसद कार्कीले संवैधानिक परिषदमा बहुमत नपुग्दा आफ्ना आसेपासेलाई नियुक्त गर्न उपसभामुख मगरलाई निशाना बनाइएको समेत आरोप लगाउनुभयो ।
उहाँले ‘संवैधानिक परिषदमा बहुमत पुगेन भनेर उपसभामुख मगरमाथि महाअभियोग लगाउन सही गराउने कस्तो पार्टी र कस्ता सांसद धिक्कार होस् भन्दै प्रश्न समेत गर्नुभएको छ ।
मंगलबार दिनभरी नौटंकी देखिएको बताउदै उहाँले एमाले र कांग्रेसहरुले आफ्ना माननीयज्युहरुलाई खाली काजगमा हस्ताक्षर गरेको भन्ने जानकारी थाहा पाएको बताउनुभयो । सोही हस्ताक्षर केका लागि र किन भन्दा उपसभामुख मगरलाई अविश्वसाको प्रस्तावमार्फत हटाउनका लागि गरिएको भन्दै उहाँले आपत्ति प्रकट गर्नुभयो ।
त्यस लगत्तै एमाले सांसद थापाले सार्वभौम संसदमा गालीगलौज र आपत्तिजनक शब्दहरु स्वीकार्य नहुने बताउनुभयो । उहाँले मण्डलेहरुसँग लामो समयसम्म लडेर आफूहरु आएको उल्लेख गर्दै शब्द चयनमा ध्यान दिन समेत सांसद कार्कीलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्