
काठमाडौं ।
फिनल्याण्डमा संसद भवन भित्रै एक युवा सांसद मृत भेटिएका छन् । सोसल डेमोक्र्याटिक पार्टीका ३० वर्षीय सांसद इमेली पेल्टोनेन राजधानी हेलसिन्कीस्थित मुख्य संसद भवनभित्रै मृत भेटिएका हुन्।
उक्त घटना मंगलबार बिहानको हो । बिबिसीका अनुसार पेल्टोनेनले आत्महत्या गरिएको अनुमान छ । घटनास्थल र उनको शव हेर्दा घटना शंकास्पद नभएकाले पेल्टोनेनले आत्महत्या गरेको हुनसक्ने अनुमान छ ।
प्रहरी घटनास्थलमा बिहान ११ः०६ बजे पुगेको थियो । संसदमा ग्रीष्मकालीन बिदा चलिरहेको थियो । घटनापछि फिनल्यान्डको सबै दलका राजनीतिज्ञहरूले दुःख व्यक्त गरेका छन् । सोसल डेमोक्रेटिक संसदीय दल नेता टिट्टी टुप्पुरेनेनले विज्ञप्ती जारी गरेर घटनाप्रति दुःख व्यक्त गरिन् ।
‘उनी एक प्रिय सदस्य थिए र हामी उनलाई धेरै सम्झनेछौं । एउटा युवा जीवन धेरै चाँडै समाप्त भयो,’ टुप्पुरेनेनले जारी गरेको विज्ञप्तीमा भनिएको छ । प्रधानमन्त्री पेटेरी ओर्पोले दिनभरका लागि सबै आधिकारिक राजनीतिक कामहरू स्थगित गरेका छन् । उनले पेल्टोनेनको सम्मानमा एक मिनेटको मौन धारण समेत गरेका थिए । सभामुख जुसी हल्ला–अहोले पनि पेल्टोनेनलाई सबै दलमा सम्मान गरिने एक मन पराइएका सहकर्मी भन्दै सम्झिएका छन् ।
पेल्टोनेन सन् २०२३ मा पहिलो पटक दक्षिणी उसिमान क्षेत्रबाट सांसदमा निर्वाचित भएका थिए। उनी १८ वर्षको उमेरमै जार्भेनपा सहरको नगर परिषद् सदस्यमा र २२ वर्षको उमेरमा नगर बोर्डको अध्यक्षमा चुनिएका थिए। जुन पदमा पुग्ने उनी सबैभन्दा कान्छो व्यक्ति थिए।
गत जुन महिनाको अन्त्यतिर, पेल्टोनेनले सामाजिक सञ्जालमा आफू मिर्गौलाको समस्या र त्यसपछिको संक्रमणका कारण केही हप्तादेखि संसदीय कामबाट टाढा रहेको जानकारी दिएका थिए।
उनले अस्पतालबाट डिस्चार्ज भइसकेको तर स्वास्थ्य अवस्थाका कारण बिरामी बिदामा बसेर पूर्ण रूपमा निको हुनमा ध्यान केन्द्रित गरिरहेको बताएका थिए । हाल प्रहरीले मृत्युको कारणबारे अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार, यस घटनामा अहिलेसम्म कुनै आपराधिक पक्ष जोडिएको देखिएको छैन ।
प्रतिक्रिया दिनुहोस्