Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदै


312
Shares

काठमाडौं ।
भारतका विदेश सचिव विक्रम मिश्री आज दुईदिने औपचारिक भ्रमणमा काठमाडौं आउँदैछन्। नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री नेपाल भ्रमणमा आउन लागेका हुन्।

भ्रमणका क्रममा दुवै देशका सचिवहरूबीच नेपाल–भारत साझेदारी, कनेक्टिभिटी, विकास सहयोग, र पारस्परिक हित जस्ता विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

विदेश सचिव मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिन लागेका हुन्। प्रधानमन्त्री ओलीले आगामी भदौ १४ देखि चीन (बेइजिङ) भ्रमण गर्ने कार्यक्रम छ भने त्यसपछि भदौ ३१ र असोज १ गते भारत भ्रमण गर्ने जनाइएको छ। मिश्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा समेटिएको पत्र ओलीलाई हस्तान्तरण गर्नेछन्।

भ्रमणका क्रममा मिश्रीले परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्री ओली, र राष्ट्रपति रामचन्द्र पौडेल लगायत उच्च नेतृत्वसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ। साथै, भारतको बिहारस्थित बोधगयामा हुने नेपाल–भारत प्रधानमन्त्रीबीचको सम्भावित द्विपक्षीय वार्ताका एजेण्डाबारे पनि छलफल हुनेछ। मिश्री सोमबार नै भारत फर्किने कार्यक्रम रहेको छ।