३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


देशमै केही गरौं भन्ने भावनाले युवा जागरुक बन्दैछन् : अध्यक्ष दाहाल


130
Shares

काठमाडाैं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो समय देशमै केही गरौँ भन्ने भावनासहित युवाहरु जागरुक हुन थालेको बताउनुभएको छ ।

भक्तपुरमा शुक्रवार आयोजित चाँगुनारायण सिटी एभोकाडो सिटी अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू देशका विभिन्न स्थानहरुमा जाँदा अहिले धेरै ठाउँमा युवाहरु र नागरिक पनि आफ्नै देशमा रोजगारी सिर्जन गर्ने अभियानतर्फ लागेको पाएको बताउनुभयो ।

उहाँले उनीहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताउनु भयो । विदेश जाने मनोवृत्तिलाई विस्तारै परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ । देशभित्रै सम्भावना र सम्भव रहेको पनि बताउनु भयो । आफ्नो देश, इतिहास, विकास, प्रक्रिया र संस्कृतिप्रति गर्व गर्ने मानसिकताको विकास आजको ठूलो चुनौति रहेको बताउनु भयो । गौरवशाली इतिहास र प्रकृतिबाट नै आफ्नै विकासको मौलिक मोडेल आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको विकास गर्न सकिने बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘अहिले देशका विभिन्न भागमा जाँदा धेरै ठाउँमा आज भोलि युवाहरु र जनताको पनि नागरिकको एउटा ठूलो हिस्सा विस्तारै विस्तारै आफ्नै देशमा रोजगारी श्रृष्टि गर्नेतर्फ विभिन्न रुपले गतिविधि अघि बढाउन पहल गर्नुभएको छ । त्यसलाई हामी सबैले प्रोत्साहित गर्नुपर्नेछ । विदेश जाने मनोवृत्तिलाई विस्तारै परिवर्तन गर्नुपर्छ । देशभित्रै सम्भव छ, देशभित्रै सम्भावना छ ।

हामी कहाँ प्रचुर प्रकृति र इतिहासले, संस्कृति र जाति, भाषाले धेरै चिज हामीलाई दिएको छ । संसारको अरु देशमा त्यो भेटिँदैन । आफ्नो देश, इतिहास, विकास र प्रक्रियाप्रति, हाम्रो संस्कृतिप्रति गर्व गर्ने मानसिकताको विकास आजको ठूलो चुनौतिपूर्ण आवश्यकता भएको ठानेको छु । हामीले सकारात्मक सोच राख्नुपर्छ । रचनात्मक ढंगले कामहरु अघि बढाउनुपर्छ । हाम्रो गौरवशाली इतिहास र प्रकृतिबाट हामीले आफ्नै विकासको मौलिक मोडेल आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने प्रक्रिया भनेकै यही नै हो ।’

अध्यक्ष दाहालले पर्यटन विकासको निम्ति के गर्न सकिन्छ भन्नेकुरा योजना बनाएर अघि बढ्न जरुरी रहेको बताउनु भयो । आफ्नो पालिकाको वस्तुस्थिति बुझेर पालिकाहरुले आफ्नो पालिकामा कुन कुन क्षेत्रलाई प्राथमिकता दिने भन्ने योजना बनाउन जरुरी रहेको बताउनु भयो ।