३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


मानसिक रोग बढ्दै गएको भन्दै तत्काल कदम चाल्न सरकारलाई आग्रह


182
Shares

काठमाडाैं ।

नेकपा (एमाले)की सांसद इन्दिरादेवी गौतमले देशभर मानसिक रोगको समस्या तिब्र रुपमा बढ्दै गएको भन्दै तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद गौतमले यस्तो आग्रह गर्नुभएको हो । उहाँले बेरोजगारी, आर्थिक संकट, लागुऔषध सेवन लगायतका कारण मानसिक स्वास्थ्य समस्यामा वृद्धि भएको उल्लेख गर्दै यस विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

मानसिक रोग उपचार गर्ने स्वास्थ्य संस्था र मनोचिकित्सकको संख्या सीमित भएकाले उपचारको अवस्था कमजोर रहेको बताउँदै उहाँले ग्रामिण क्षेत्रमा सेवा अझै भरपर्दो रुपमा नपुगेको उल्लेख गर्नुभयो । गौतमले मानसिक स्वास्थ्यका लागि मनोचिकित्सक विशेषज्ञ, परामर्शदाता र आवश्यक सम्पूर्ण उपचार व्यवस्थाको विस्तार गर्न समेत माग गर्नुभयो ।


उहाँले भन्नुभयो, ‘हाम्रो समाजमा बेरोजगारी, आर्थिक संकट, लागुऔषध सेवन आदि समस्याका कारण मानसिक रोगको समस्या धेरै बढ्दै गएको छ । आत्महत्याको दर पनि बढ्दै गएको छ । मानसिक रोगको उपचार गर्ने स्वास्थ्य संस्थाहरु सिमित छन् । साथै मनोचिकित्सक पनि अत्यन्तै थोरै भएको हुँदा उपचारको अवस्था कमजोर छ ।

अझै ग्रामिण क्षेत्रमा यो सेवा भरपर्दो रुपमा पुग्न सकेको छैन । तसर्थ मनोचिकित्सक विषेशज्ञ, परामर्शदाता र उपचारका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्थाका लागि सरकारसँग माग गर्दछु । मानसिक स्वास्थ्यमा अहिले नै ध्यान नदिने हो भने भविष्यमा यसले ठूलो सामाजिक संकट निम्त्याउनेतर्फ ध्यान दिँदै सम्बन्धीत निकायले बेलैमा ठोस कदम चालोस् ।’ बढ्दो मानसिक समस्याका कारण भविष्यमा समाजमा गम्भीर संकट पैदा हुनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।