३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरु अनिवार्य दर्ता हुनैपर्छः प्रधानमन्त्री ओली


130
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरु अनिवार्य दर्ता हुनुपर्ने बताउनुभएको छ ।

ललितपुरमा शुक्रवार आयोजित डिजिटल फ्रेमवर्क, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा सञ्चालन रहेका तर दर्ता हुन नआउने सामाजिक सञ्जालहरुमाथि सरकारले निगरानी बढाइरहेको बताउनुभयो । नेपालमा हुने कारोबार नेपालको कानूनअन्तर्गत नै हुनुपर्ने उहाँको भनाइ छ ।

मेटा लगायतका सामाजिक सञ्जालहरुलाई नेपालमा दर्ताका लागि आह्वान गरेको सरकारले अहिलेसम्म दर्तामा ल्याउन सकेको छैन । लामो समयदेखि दर्ता हुन बोलाए पनि मेटा लगायतले अटेर गरिरहेका छन् । बिना दर्ता नेपालमा सञ्चालन भइरहेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको तर्फबाट बारम्बार दर्ता लागि आह्वान गरिरहनुभएको छ ।

यदी नेपालको कानूनअन्तर्गत दायित्व र उत्तरदायित्व पूरा नगरेको पाइए ठोस निर्णय गरेर सरकार अघि बढ्ने पनि बताउनु भयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपालमा जे कुरा चल्छ, चलाइन्छ, जुन कारोबार नेपालमा हुन्छ, नेपालको कानूनअन्तर्गत हुनुपर्दछ । नेपाल सरकारले थाहा पाएको हुनुपर्दछ । नेपाल सरकार, नेपाली जनता, नेपाली कानूनप्रति उत्तरदायि भएको हुनुपर्दछ । यहाँबाट जुन चल्छ, त्यसको ट्याक्स यहाँ तिर्नुपर्दछ । लाभको ट्याक्स तिर्नुपर्दछ ।

त्यो भन्दा बाहिर बस्छु भन्ने छुट कसैलाई छैन । नेपालमा प्रयोग हुने त्यस्ता चिजहरुले नेपालमा अफिस खोलेको हुनुपर्दछ । नेपालको कानूनमा रजिस्ट्रड भएको हुनुपर्दछ । नेपालको कानूनअन्तर्गतका दायित्वहरु र उत्तरदायित्वहरु पूरा गरेको हुनुपर्दछ ।’ प्रधानमन्त्री ओलीले इन्टरनेट सेवा सबै ठाउँमा पु¥याउन पनि सञ्चारमन्त्रालयलाई निर्देशन दिनुभयो ।