Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


संविधानप्रति असन्तुष्टि कायमै


0
Shares

अक्कल कुँवर (इमेज)

काठमाडौं, असोज ३ । संविधानसभाबाट संविधान जारी भएको तीन वर्ष पूरा भएको छ । तर, संविधानप्रति अहिलेपनि केही पक्षको असन्तुष्टि कायमै छ ।

संविधानप्रति असहमति राख्दै मधेसकेन्द्रित दल राजपा नेपालले आजको दिनलाई ‘कालो दिन’कारुपमा मनाएको छ भने अर्को मधेसकेन्द्रित दल संघीय समाजवादी फोरम नेपालभित्र विवाद छ ।

आफूहरुको सहमतिबिनै संविधान जारी भएको भन्दै असन्तुष्ट देखिएको तत्कालीन मधेसकेन्द्रित राजनीतिक दलहरुको मोर्चाले आन्दोलन नै गर्‍यो ।

मोर्चाको राजविराज बैठकले संविधानको विरोधमा नाकाबन्दी गर्ने औपचारिक निर्णय नै गरेको थियो । मधेसी मोर्चाले लामो सडक संघर्ष र नाकाबन्दी गर्‍यो । तर, संविधान संशोधन भएन ।

अहिलेपनि संविधानप्रति मधेसकेन्द्रित दल र आदिवासी जनजातिका केही समूहको असहमति कायमै छ ।

प्रादेशिक सीमांकन, समानुपातिक समावेशी प्रतिनिधित्व, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र नागरिकताका विषयमा उनीहरुको असहमति छ ।

राज्यले आफूहरुका माग सम्बोधन नगरेको भन्दै राजपाले संविधान दिवसलाई कालो दिवसकारुपमा मनाउँदै आएको छ ।

राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमन्डलका सदस्य शरत्सिंह भण्डारीले अझैपनि आफूहरुको संविधानप्रति ठूलो असन्तुष्टि रहेको बताए ।

हुन त संविधानप्रति असन्तुष्ट पक्ष त्यही संविधान कार्यान्वयनका लागि गत वर्ष भएका तीनओटै तहका निर्वाचनमा सहभागी भयो ।

तत्कालीन मोर्चामा रहेको संघीय समाजवादी फोरम अहिले संविधानअनुसार गठन भएका केन्द्रदेखि प्रदेश तहसम्मका सरकारमा सहभागी छ । राजपा पनि प्रदेश सरकारमा सहभागी छ ।

राजपा अध्यक्षमन्डलका सदस्य भण्डारी संविधानका मुलभूत विषय गणतन्त्र र संघीयताप्रति आफूहरु सहमत रहेकाले निर्वाचन र संसदमा सहभागी भएको जिकिर गर्छन् ।

संविधानप्रति असन्तुष्ट राजपा र फोरमका केही नेताले कालो दिवसकारुपमा संविधान दिवस मनाएका छन् ।

संविधानअनुसार गठन भएको सरकारका पनि सहभागी हुने र यो दिनलाई कालो दिवसकारुपमासमेत मनाउने दोहोरो चरित्र ती दलले देखाउँदै आएका छन् ।

भिडियो हेर्नुहोस्