इमेज जिल्ला ब्यूरो
काठमाडौं, असोज ३ । देशभर संविधान दिवसलाई उल्लासका साथ मनाइरहँदा केही मधेसी दलहरुले भने बुधबार ‘कालो दिवस’ मनाएका छन् ।
मधेसकेन्द्रित दलमध्येको राजपा नेपालले पार्टीबाट औपचारिक निर्णय गरेरै संविधानकाविरुद्धमा जनकपुरलगायतका स्थानमा विरोध प्रदर्शन गरेको हो ।
संविधानअनुसार चुनाव लडेर सांसदको शपथ लिएकाहरु पनि कालो दिवस मनाउन सडकमा उत्रिएका थिए ।
प्रदेश नम्बर–२ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले त विरोध प्रदर्शनको नेतृत्व नै गरे ।
जनकपुरमा आयोजित संविधानविरोधी जुलुसमा राष्ट्रियसभाका राजपाका सांसद बृषेशचन्द्र लाल, प्रदेशसभा सदस्य परमेश्वर साहलगायत पनि सहभागी भए ।
कैलालीमा संविधानकाविरुद्धमा प्रदर्शन
बुधबार कैलालीमा थारुवान् संयुक्त संघर्ष समितिको आयोजनामा संविधानकाविरुद्धमा प्रदर्शन भयो ।
तर, अर्को मधेसवादी दल संघीय समाजवादी फोरम नेपालले भने आफ्ना नेता–कार्यकर्तालाई कालो दिवसका कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको थियो ।
सो पार्टीका केही नेता–कार्यकर्तामात्रै व्यक्तिगतरुपमा विरोध कार्यक्रममा सहभागी भएका थिए ।
सीके राउत समर्थकहरु नियन्त्रणमा
बुधबारै जनकपुरलगायतका स्थानबाट संविधान दिवसका विरोधमा उत्रिएका सीके राउत समर्थकहरुलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
जनकपुरस्थित २ नम्बर प्रदेश कार्यालयमा राउत समर्थकहरुले ‘फ्री मधेस’को तुल झुन्ड्याएका थिए ।
जनकपुर, महोत्तरी, सिरहा, सप्तरी, रौतहट कपिलवस्तु, रुपन्देहीलगायतका स्थानबाट पनि राउत समर्थक सयौं कार्यकर्तालाई पक्राउ गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्