काठमाडौं, असोज ३ । सभामुख कृष्णबहादुर महराले संविधान गतिशील दस्तावेज भएको बताएका छन् ।
‘नयाँ पाइला’ अनलाइनको बुधबार राजधानीमा शुभारम्भ गर्दै उनले संविधान समयअनुसार संशोधन गर्नसकिने बताए ।
देश र जनतालाई माया गर्न र आर्थिक वृद्धिमा सकारात्मकरुपमा अगाडि बढ्न सबै राजनीतिक दललाई उनले आग्रह पनि गरे ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले मुलुकी ऐनले अभिव्यक्ति स्वतन्त्रता नखोसेको भन्दै संविधानको धाराअनुसार चल्ने मिडियालाई मुलुकी ऐनले कतै प्रतिबन्ध नलगाएको दाबी गरे ।
यस्तै, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्रको छहारीमा पनि प्रेस स्वतन्त्र रहन सकेन भने त्योभन्दा दुर्भाग्य केही नहुने बताए ।
समाचार लेखेकै भरमा, बोलेकै भरमा बर्खात हुनुपर्ने कानुन ल्याएर प्रेसको टाउकोमाथि तरबार राख्न खोजेको उनको आरोप थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफना कार्यकर्तालाई ‘अरिंगाल’ बन्न दिएको निर्देशनसम्बन्धी प्रसंगमा नेकपा नेता भट्टराईले ‘नेपाली कांग्रेसको नसा च्यापिएकाले अरिंगालले टोके औषधि हुने’ बताए ।
शुभारम्भ गरिएको न्यूज पोर्टलको प्रधानसम्पादकमा पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्