बिराज रोस्यारा (इमेज)
कैलाली, असोज ३ । प्रदेश नम्बर–७ का मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानको कार्यान्वयन गर्नु वर्तमान सरकारको मूल दायित्व भएको बताएका छन् ।
संविधान दिवस मूल समारोह समिति प्रदेश नम्बर–७ ले बुधबार धनगढीमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री भट्टले संविधानमा भएका व्यवस्थाहरुको कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक भएको बताए ।
उनले नेपालको संविधान विश्वमै उत्कृष्ट भएको र त्यसको उपभोग गरेर हरेक नागरिकले अधिकारसम्पन्न बन्नुपर्ने धारणा राखे ।
नेपालको संघीयता तीनै तहका सरकारको सहअस्थित्वसहितको संघीयता भएको बताउँदै मुख्यमन्त्री भट्टले यसको कार्यान्वयनका लागि पनि समन्वय आवश्यक रहेको बताए ।
समाजमा रहेको विभेद, कुरितीको अन्त्य पनि संविधानको कार्यान्वयनबाट नै हुने उनले उल्लेख गरे ।
समाजमा अझैपनि घरेलु हिंसा, सामाजिक र लैंगिक विभेद रहेको भन्दै उनले समाज परिवर्तनका लागि जनप्रतिनिधिहरु लाग्नुपर्नेमा जोड दिए ।
यस्तै, प्रदेश नम्बर–७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले तीनै तहका निर्वाचनपछि संघीयताले एउटा आकार लिएको बताए ।
संविधान दिवस समारोहमा प्रदेश नम्बर–७ का प्रदेशप्रमुख मोहनराज मल्लको पनि उपस्थिति रहेको थियो । उनलाई नेपाली सेनाको एक टुकडीले सलामी दिएको थियो ।
त्यसैगरी, कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेश संसद, धनगढी उपमहानगरपालिकाका प्रमुख, मन्त्रालयका सचिव तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्