३१ जेष्ठ २०८२, शनिबार | Sat Jun 14 2025


भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन : गृहमन्त्री लेखक


689
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको र हुन नसक्ने दाबी गर्नुभएको छ ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै गृहमन्त्री लेखकले आफूविरुद्ध नियोजित र षड्यन्त्रमुलक ढंगले राजनीतिक रुपमा आक्रमण गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाउनुभयो । आफूलाई जोडेर सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका विषयमा समेत कुनै सत्यता नरहेको जिकिर गर्दै खेद प्रकट गर्नुभयो ।

गृहमन्त्री लेखकले अख्तियारले गरिरहेको छानबिनमा सहयोग गर्ने बताउँदै आवश्यक परेमा उपस्थित हुन तयार रहेको पनि बताउनुभयो । उहाँले कर्मचारी जोडिँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने कुरा अनुचित रहेको पनि जिकिर गर्नुभयो ।

सभाको बैठकमा रास्वपा र राप्रपाको विरोध र नाराबाजीकै बीचमा मन्त्री लेखकले आफ्नो धारणा राखिरहनुभएको छ । माओवादी संसदको गतिरोध अन्त्य गर्न तयार भएपनि रास्वपा र राप्रपा अझै सहमत छैनन् । उनीहरुले भिजिट भिसा प्रकरणको छानविनको लागि संसदीय छानविन समिति गठन गर्नुपर्ने अडान कायमै राखेका छन् । दुई दलको विरोधका बीच सभामुखले सभालाई अगाडि बढाउनुभएको छ ।