
काठमाडौं । गृहमन्त्री रमेश लेखकले शिक्षक र सरकारबीचको सम्झौताअनुसार नै विद्यालय शिक्षा विधेयक पारित हुने बताउनुभएको छ ।
बिहीबार नेपाल शिक्षक संघको २४ औं संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले शिक्षक आन्दोलनको स्मरण गर्दै शिक्षकले विद्यालय र कक्षा कोठामा मात्र नभई सडकमा समेत कसरी प्रश्तुत हुनुपर्छ भनेर विद्यार्थीलाई पाठ सिकाएको बताउनुभएको हो ।
गृहमन्त्री लेखकले नेपाली कांग्रेस विद्यालय शिक्षा विधेयकमा शिक्षकहरुले उठाएको माग सम्बोधन गर्ने विषयमा एकमत रहेको र सहमति र सम्झौताबमोजिम शिक्षा विधेयक पारित गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो । उहाँले प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलभन्दा पनि केही व्यक्तिहरु नियोजित ढंगले राजनीतिक पूर्वाग्रह राखेर सदन अवरोध भइरहेको बताउनुभयो । उहाँले सदन सुचारु गर्ने विषयमा छलफल भइरहेकोले सम्झौताअनुसार असार १५ गते नै शिक्षा विधेयक पारित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
गृहमन्त्री लेखकले अख्तियारले एउटा कर्मचारीमाथि गरिरहेको छानविनलाई लिएर सदन अवरुद्ध हुनु दुःखको कुरा भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्