२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024


अधिकार माग्ने बहानामा मुलुकलाई क्रिडास्थल बन्न दिइँदैन : प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, असोज ३ । नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा आज संविधान दिवस मनाइँदैछ ।

संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सुशासन, विकास र समृद्धिका लागि संविधान कार्यान्यवन गर्नु आफ्नो कर्तव्य भएको बताएका छन् । उनले संविधानले शान्ति, स्थिरता, विकास र समृद्धिको ढोका खोलेको भन्दै संविधानलाई कार्यान्वयन गर्नुको विकल्प नभएको बताए ।

प्रधानमन्त्री ओलीले संविधानले नेपाललाई बलियो, समृद्ध र मर्यादित राष्ट्रको रुपमा रुपान्तरित गरेको भन्दै राष्ट्रियता रक्षा र छिमेकीसँगको सम्बन्ध बलियो बनाउने कामसमेत वर्तमान संविधानले नै गरेको बताए । नेपालको संविधान नेपाली कानुनहरुको स्रोत दस्तावेजमात्र नभई नेपालीहरुको चाहना समेटिएको साझा दस्तावेज भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले तराई, हिमाल र पहाडको साझा भावना समेटिएको साझा ग्रन्थको रुपमा संविधान आएको बताए । संविधानले सबै नागरिकलाई विना भेदभाव मौलिक हक र स्वतन्त्रता सुनिश्चित गरेको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले संविधानलाई आवश्यकताअनुसार संशोधन गर्न सकिने पनि बताए । सबै असन्तुष्टिका स्वरलाई संविधानमार्फत संस्थागत गर्न सकिने तर अधिकार माग्ने बहानामा मुलुकलाई क्रिडास्थल बन्न नदिने उनले प्रष्ट पारे ।

प्रधानमन्त्री ओलीले राजनीतिक क्रान्ति पूरा भइसकेको भन्दै समृद्धि र विकासको साझा एजेण्डामा एकताबद्ध हुन सबै राजनीतिक दललाई आग्रहसमेत गरे ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, सभामुख कृष्णबहादुर महरालगायत संवैधानिक निकायका प्रमुख, मन्त्रीहरु र सांसदहरुको सहभागिता थियो ।

कार्यक्रममा नेपाली सेनाले संविधान दिवस झन्डा अंकित हेलिकोप्टरबाट पुष्पवृष्टि गराएको थियो । त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले आ–आफ्नो कलाकौशल प्रदर्शन गरेका थिए ।

काठमाडौं, ललितपुर र भक्तपुर महानगरपालिकाले पनि आ–आफ्नो संस्कृति झल्कने साँस्कृतिक झाँकी प्रदर्शन गरेका थिए ।