
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल र चीनको जनकङ्ग्रेसका स्थायी कमिटीका उपाध्यक्ष सिआओ चीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
शुक्रबार संसद भवन नयाँ बानेश्वरमा भएको भेटवार्तामा द्धिपक्षी साझेदारी, आपसी सहयोग र विगतमा भएको सम्झौताहरुको कार्यान्वयनको विषयमा छलफल भएको अध्यक्ष दाहालले बताउनुभएको हो । उहाँले भेटका क्रममा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्न आग्रह गरेको र सकारात्मक प्रतिक्रिया पाएको बताउनुभयो ।
अध्यक्ष दाहालले भेटमा विगतमा सामाजिक, आर्थिक, राजनीतिक लगायत सहमति तथा साझेदारी बनेका विषयहरुको कार्यान्वयनमा आफूले जोड दिएको समेत बताउनुभयो । आपसी सहयोग र विगतमा भएका सहमतिहरु कार्यान्वयन गर्ने विषयमा चिनियाँ जनकङ्ग्रेसका स्थायी कमिटीका उपाध्यक्ष चीबाटले समर्थन जनाएको बताउनुभयो ।
अध्यक्ष दाहालका अनुसार जनकङ्ग्रेसका स्थायी कमिटीका उपाध्यक्ष चीबाटले चीनको विरुद्धमा नेपाली भूमि प्रयोग गर्न नदिने अडान कायमै राख्न आग्रह गर्नुभएको छ ।
भेटमा नेपाल–चीन सम्बन्धलाई थप मजबुत र समृद्ध बनाउँदै लैजाने विषयमा समेत छलफल भएको अध्यक्ष दाहालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्