Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


सत्तामा बस्नेहरु थाकेर भाग्लान् तर शिक्षकहरु आन्दोलनबाट भाग्दैनन् : अध्यक्ष सुवेदी


1.4k
Shares

काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक आन्दोलन बद्नाम गराउन विरोधीहरुले अनेक कुप्रचार गरिरहेको आरोप लगाउनुभएको छ ।

विद्यालय शिक्षक ऐन जारी गर्न माग गर्दै गत चैत्र २० गतेदेखि काठमाडौंमा जारी आन्दोलनको २७ औँ दिनलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष सुवेदीले आइतबार भएको शिक्षक आन्दोलनमा प्रहरी प्रशासनले गरेको अलोकतान्त्रिक कदमको महासंघले भत्र्सना गरेको बताउनुभयो । उहाँले आन्दोलनमा ‘भिजिलान्ते’ प्रयोग गरी विरोधीहरुले ढुङ्गामुडाको अवस्था सिर्जना गरेर प्रहरीले दमन गरेको आरोप लगाउनुभयो ।

अध्यक्ष सुवेदीले सत्तामा बस्नेहरु थाकेर भाग्न सक्छन् तर आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारी माग पूरा नभइ आन्दोलनबाट नभाग्ने जिकिर गर्नुभयो । उहाँले शिक्षकहरुको २४ बुँदे मागमध्ये सरकारले तत्काल गर्नसक्ने १६ बुँदाको कार्यसूची बनाएको र त्यो नै आधिकारिक दस्ताबेज भएको बताउनुभयो ।

अध्यक्ष सुवेदीले आइतबारको आन्दोलनमा ६२ जना शिक्षक घाइते भएको भन्दै ६२ हजार शिक्षक घाइते हुन तयार रहेको तर शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने बताउनुभयो ।