३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


समाजिक सञ्जालमा प्रतिबन्ध लाग्न सक्छ : सञ्चारमन्त्री गुरुङ


1.105k
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्नसक्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा सञ्चारिका समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले नेपालमा सञ्चालन भएका फेसबुकलगायत सामाजिक सञ्जालका सञ्चालकहरुले दर्ता गर्ने समयसीमा सकिन लाग्दा समेत दर्ता नगरेको बताउनुभयो । नेपालको संविधान, ऐन तथा कानूनअनुसार तोकिएको समयमा दर्ता नभए त्यस्ता सामाजिक सञ्जालहरुमाथि प्रतिवन्ध लगाउन सकिने उहाँको भनाइ छ ।

सञ्चारमन्त्री गुरुङले देशको स्वाभिमान विथोल्ने गरी सामाजिक सञ्जालमा विभिन्न प्रचारप्रसार हुने गरेको भन्दै त्यसको नियमन हुनुपर्ने बताउनुभयो । फेक आइडी बनाएर समाजमा विकृति निम्त्याउने तथा हिंसाको प्रवद्र्धन हुनेगरी सामाजिक सञ्जालमा प्रचार हुने गरेको बताउनुभयो । सामाजिक सञ्जालहरु नेपालमा दर्ता नभएकै कारण सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक रोकिएको उहाँको भनाइ छ ।

सञ्चारमन्त्री गुरुङले नेपाल धार्मिक सहिष्णुताको अनुपम उदाहरण भएको बताउनुभयो । उहाँले विभिन्न जातजाती तथा धर्मका अनुयायी मिलेर बसेको नेपाल विविधतामा एकता भएको बताउनुभयो । उहाँले सामाजिक सञ्जालको दूरुपयोग गरी विदेशीहरुले नेपालको धार्मिक सहिष्णुतालाई खल्बलाउन नेपालीलाई कमजोर बनाउन खोजेको आरोप लगाउनुभयो ।

सञ्चारमन्त्री गुरुङले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक पत्रकार महासंघलगायत सबै पत्रकार संघ संगठनसँग छलफल गरेर अगाडि बढाउने बताउनुभयो ।