
हेटौंडा, असार ६ । नेपाली कांग्रेसका ८ जना केन्द्रीय सदस्यले जिल्ला सभापतिहरुलाई तत्काल महाधिवेशनको प्रक्रिया अघि बढाउन नेतृत्वलाई दबाब दिन आग्रह गरेका छन् ।
सभापति भेलाका सहभागीहरुलाई पत्र लेख्दै उनीहरुले अहिलेको कांग्रेस नेतृत्वबाट सशक्त प्रतिपक्षको भूमिका पनि निर्वाह हुन नसक्ने भन्दै नेतृत्व परिवर्तनका पक्षमा दबाब दिन आह्वान गरेका हुन् । हेटौंडामा जारी सभापति भेलामा गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारी, प्रदिप पौडेललगायत नेताले प्रदेश र स्थानीय तहका अधिवेशन गर्न केन्द्रीय महाधिवेशन कुर्न नहुनेमा पनि जोड दिएका छन् ।
महाधिवेशन कुरेर संघीय संरचनामा अधिवेशन नगरिए अर्को आम चुनाव पनि जित्न नसकिनेमा सचेत रहन उनीहरुले भनेका छन् । विधानअनुसार नियमित रुपमा पनि अर्को साल फागुनमा पार्टीको १४ औं महाधिवेशन गर्नुपर्ने भन्दै उनीहरुले वडा, गाउँपालिका, नगरपालिका, क्षेत्र र प्रदेशको अधिवेशन तत्काल शुरु गर्ने वातावरणका लागि आग्रह गरेका हुन् ।
महासमितिबाट संघीय विधान पारित गरी स्थानीय र प्रादेशिक तहको अधिवेशन प्रक्रिया शुरु गर्नुपर्ने भन्दै उनीहरुले यसै वर्ष ती तहको अधिवेशन सम्पन्न गरी २०७६ सालमा केन्द्रीय महाधिवेशन गर्न सुझाव दिएका छन् । कांग्रेसको वर्तमान नेतृत्वबाट पार्टी पहिलेको अवस्थामा पुग्न नसक्ने भन्दै भेलामा निर्वाचनको समीक्षा र आगामी कार्यदिशाबारे छलफल गर्न आग्रह गरिएको छ ।
अहिलेकै शैली, नेतृत्व र वैचारिक अलमलबाट सशक्त प्रतिपक्षीय भूमिका पनि सम्भव नहुने निष्कर्ष उनीहरुको छ । ‘कांग्रेसको नयाँ मिसन तय गर्दै नयाँ युगको लागि नयाँ एजेण्डा बोकेर हिँड्न सक्ने संगठनको खाका कोर्न र नेतृत्व तयार गर्नुनै एक मात्र विकल्प हो,’ उनीहरुले भनेका छन् ।
यसरी आह्वान गर्नेमा थापा, गुरुङ, भण्डारी, पौडेलका साथै जीवन परियार, गुरुराज घिमिरे, रामकृष्ण यादव र किरण यादव छन् ।
प्रतिक्रिया दिनुहोस्