काठमाडौं, असोज २ । उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन प्रस्थान गर्दैछन् ।
६ दिने औपचारिक भ्रमणका लागि उनी बिहान ‘सीए ४३८’ नम्बरको एअर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान गर्ने उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।
सिचुवान प्रान्तको राजधानी छेन्दुमा यही असोज ४ गतेदेखि सुरु हुने ‘१७औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधिमन्डलको नेतृत्व गर्दै उपराष्ट्रपति चीन जान लागेका हुन् ।
उनले असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
उपराष्ट्रपति पुनले असोज ४ गते चीन भ्रमणकाक्रममा ‘एक क्षेत्र एक मार्ग’ (बीआरआइ)सम्बन्धी व्यावसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
चीनमा रहँदा उनीसँग चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का सिचुवान प्रान्तका सेक्रेटरी र सरकारी प्रतिनिधिले शिष्टाचार भेट गर्ने तय भएको छ ।
उनले सिचुवानको विकासे परियोजनालगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गर्ने ।
उपराष्ट्रपति चीनको भ्रमण सकेर असोज ८ गते काठमाडौं आइपुग्नेछन् ।
भ्रमणबारे राष्ट्रपतिलाई जानकारी
उपराष्ट्रपति पुनले आफ्नो चीन भ्रमणबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन् ।
राष्ट्रपति भण्डारीलाई मंगलबार अपराह्न भेटेर उपराष्ट्रपतिले आफ्नो चीनको औपचारिक भ्रमणबारे जानकारी गराएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्