१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


‘बी’ डिभिजन लिगमा सरस्वती युथको जित


494
Shares

काठमाडौं । सरस्वती युथ क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिगमा सुखद् शुरुवात गरेको दिन नयाँबस्ती युथ र ब्वाइज युनियन क्लवले भने अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सरस्वतीले बुधबार बाँसबारी क्लबमाथि २–१ को जित निकाल्दै ‘बी’ डिभिजन लिगमा सुखद् शुरुवात गरेको हो ।

सरस्वतीको जितमा सविन लुङ्गेली र धीरेन्द्रबहादुर शाहले गोल गरे । बाँसबारीका बिकी राईले सान्त्वना गोल फर्काए । त्यसअघि दिनको पहिलो खेलमा नयाँबस्ती र ब्वाइज युनियनले गोलरहित बराबरीमा खेलेका थिए । यससँगै १४ क्लव सहभागी लिगमा पहिलो चरणको खेल पूरा भएको छ । पहिलो चरण पूरा हुँदा चार क्लवले स्पष्ट जित निकालेका छन् ।

तीन खेलको नतिजा भने बराबरीमा टुङ्गिएको छ । यसअघि प्लानिङ ब्वाइज, ब्रिगेड ब्वाइज र श्रीभगवती क्लबले जित निकालेका छन् । बुधबार सरस्वतीले पनि बाँसबारमाथि जित निकाल्दै स्पष्ट तीन अंक बटुलेको छ । क्लिन सिट नजिक पुगेको सरस्वतीले इन्जुरी समयमा गोल सामना गरेको हो ।

तर, त्यो गोलका बावजुद खेलमा फर्कन भने सकेन । खेलको ३३औं मिनेटमा सबिनले गोल गर्दै अग्रता दिलाए । उनले बाँसबारीका गोलकिपर रोशन कार्की पोजिसनमा नरहेको अवस्थामा सबिनले फ्लिक गर्दै बललाई जाली चुमाएका हुन् ।

सरस्वतीका कप्तान शक्ति राईले चलाखीपूर्ण रूपमा दिएको पासलाई नियन्त्रणमा लिँदै सबिनले बाँसबारीका गोलकिपर रोहनको माथिबाट बललाई जाली चुमाए । त्यो गोलपछि सरस्वती पहिलो हाफमा १–० ले अगाडि रह्यो । दोस्रो हाफ सुरु भएको केही समयपछि नै सरस्वतीले दोस्रो गोल ग¥यो ।

यसपल्ट पनि सरस्वतीले बाँसबारीका गोलकिपर रोशन कार्कीको गल्तीमा गोल गरेको हो । ५१औं मिनेटमा धीरेन्द्रले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । बाँसबारीका गोलकिपर रोशनले आफ्नै डिफेन्डरले दिएको बललाई क्लियर गर्न सकेनन् । त्यो बल खोस्दै धीरेन्द्रले गोल गरेका हुन् । खेलको अन्तिम समयसम्म सरस्वती सहज जिततर्पm अग्रसर देखिन्थ्यो ।

तर, इन्जुरी समयमा खराब डिफेन्सको फाइदा उठाउँदै बाँसबारीका बिकीले गोल गरे । सन्दीप लिम्बूले तीन डिफेन्डर कटाउँदै दिएको पासलाई पेनाल्टी बक्समा अनमार्क बिकीले जाली चुमाए । त्यससँगै बाँसबारी खेलमा फर्किने प्रयास गरे पनि सफल भएन र सरस्वतीले तीन अंक बटुल्यो । त्यसअघि पहिलो खेलमा नयाँबस्ती र ब्वाइज युनियनले गोलको प्रयास गरे पनि सम्भव भएन र समान एक अंक बाँडे ।