काठमाडौं । १५ वर्ष कानूनी वकालत गरेको व्यक्ति वरिष्ठ अधिवक्ता बन्न पाउने प्रावधानलाई बढाउनु नहुनेमा सांसदहरुले जोड दिएका छन् ।
वरिष्ठ अधिवक्ता बन्नका लागि १५ वर्ष कानूनी वकालत गरेको अनुभव हुनुपर्ने कुरा नै सही रहेकाले समयावधि बढाउन आवश्यक नरहेको सांसदहरुको भनाइ छ ।
मंगलबार सिंहदरबारमा बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै सांसदहरुले १५ वर्ष सानो समय नभएको भन्दै यसलाई बढाउन जरुरी नरहेको बताए । समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले १५ वर्ष न्याय क्षेत्रमा काम गरेर वरिष्ठ अधिवक्ता बन्नु मामुली कुरा नभएको भन्दै १५ वर्ष काम गरेपछि वरिष्ठ अधिवक्ता बन्न पाउने कुरा नै ठिक रहेको बताउनुभयो । उहाँले १५ वर्ष भन्दा बढी राख्नु भनेको न्याय क्षेत्रमा युवाहरुको पहुँचलाई रोक्ने काम भएको बताउनुभयो ।
समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नैतिक पतन देखिने फौजदारी कसुर केके हुन् रु भन्नेकुरा अदालतलाई मात्रै जिम्मा दिने भन्दा पनि सरकारले नै परिभाषित गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले नैतिक पतन भएका कानून व्यवसायीहरुको प्रमाणपत्र रद्ध गर्नेकुरामा पनि ३ वर्ष सजाय व्यहोरोको व्यक्तिको प्रमाण पत्र रद्ध हुनुपर्ने आफ्नो प्रस्ताव रहेको बताउनुभयो ।
समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले जानकारी नदिइ कानून व्यवसायीको प्रमाणपत्र प्राप्त गर्नेलाई न्यायोचित सजाय दिनुपर्ने बताउनुभयो । उहाँले उसको प्रमाणपत्र रद्ध गर्ने नभइ केही जरिबाना तिराउन सकिने बाटो खोज्नुपर्ने बताउनुभयो । त्यसो गरेको खण्डमा सुसंस्कार कायम हुने बताउनुभयो ।
समितिको बैठकमा बोल्दै अन्य सांसदहरुले वरिष्ठ अधिवक्ता बन्नका लागि समयावधि बढाउँदै लैजाने कुरा राम्रो नभएको धारणा राखे । सिमित मापदण्ड पूरा गरिसकेपछि वरिष्ठ अधिवक्ता बन्न पाउने कुरा नै राम्रो रहेको र १५ वर्ष भन्दा माथि लैजानु नहुनेमा जोड दिए ।





प्रतिक्रिया दिनुहोस्