
काठमाडौं । महान्यायाधिवक्ता रमेश वडालले मुद्दा चलाउने प्रक्रियामा महान्यायाधिवक्ताको कार्यालयमाथि प्रधानमन्त्रीको हस्तक्षेप नरहेको बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा संसदीय मामिला समितिमा बोल्दै महान्यायाधिवक्ता वडालले आफू नियुक्त भएदेखि मुद्दा चलाउनु/नचलाउनु भनेर अहिलेसम्म प्रधानमन्त्रीले अनुरोध नगरेको बताउनुभयो । आजसम्म मुद्दा चलाउने र नचलाउने निर्णय भएका सम्पूर्ण प्रक्रियाको जिम्मेवार आफू र महान्यायाधिवक्ताको कार्यालय भएको उहाँको भनाइ छ । यद्यपि अन्य राजनीतिक दलका नेताहरुले महान्यायाधिवक्ताको कार्यालयलाई प्रभावमा पार्न खोज्ने गरेको उहाँले बताउनुभयो ।
महान्यायाधिवक्ता वडालले मुद्दा चलाउने निर्णय भएका विषयमा राजनीत दलका नेताहरुले प्रभाव पार्न खोज्ने गरेको भएपनि आफू कानूनको परिधिमा रहेर निर्णय लिन गरेको बताउनुभयो । उहाँले फौजदारी कार्यविधि संहिता संशोधन गरिरहेको उल्लेख गर्दै विगो निर्धारणलाई वैज्ञानिक बनाउने बताउनुभयो । उहाँले विगोसम्बन्धी कानूनमा केही पनि उल्लेख नगरिएको उल्लेख गर्दै कार्यदलले दिएको सुझावका आधारमा ऐन बनाउनुपर्ने बताउनुभयो ।
बैठकमा मंगलबार महान्यायाधिवक्ताको कार्यालयका कामकारबाहीबारे छलफल गरेको छ ।
प्रतिक्रिया दिनुहोस्