
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको रूपमा शपथ लिनुभएको छ । अमेरिकी संसद्को क्यापिटल हिलमा ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा सोमबार राती शपथ लिनुभएको हो ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले ट्रम्पलाई शपथ दिलाउनु भएको हो । शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेन, पूर्व राष्ट्रपतिहरू, उपराष्ट्रपति, मनोनित गरिएका मन्त्रीहरू तथा उच्चपदस्थ अधिकारीरुको उपस्थिति थियो ।
रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्नुभएका ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै विजयी हुनुभएको थियो । शपथ समारोहपछि सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकाको स्वर्ण युग शुरु भएको घोषणा गर्नुभयो ।
राष्ट्रपति ट्रम्पले अमेरिका अब समृद्ध र सम्मानित हुने भन्दै अमेरिकालाई सँधै प्राथमिकता दिने उद्घोष गर्नुभयो । साथै उहाँले न्याय विभागको अनुचित र भेदभावपूर्ण प्रयोगको अन्त्य गरिने जानकारी समेत दिनुभयो ।
यस क्रममा ट्रम्पले अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय संकटकाल घोषणा समेत गर्नुभयो । ट्रम्पले अवैध प्रवेशलाई तुरुन्तै रोकिने र सरकारले लाखौँ अपराधी आप्रवासीलाई आफ्नो देशमा फिर्ता गर्ने प्रक्रिया शुरु गर्ने दाबी समेत गर्नुभयो । ट्रम्पको यो घोषणासँगै अमेरिकामा अवैध रुपमा प्रवेश गर्ने आप्रावासीहरुलाई धक्का लागेको छ ।
प्रतिक्रिया दिनुहोस्