
काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले खेलकुदमार्फत विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउन सकिने बताउनुभएको छ ।
सोमबारबाट त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा सुरु भएको अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टि २० नेपाल कप क्रिकेटको उद्घाटन गर्दै पूर्वराष्ट्रपति यादवले यस्तो बताउनुभएको हो ।
पूर्वराष्ट्रपति यादवले पछिल्लो दुई दशकदेखि नेपालले क्रिकेटको क्षेत्रमा उदाउँदै गरेको देशको पहिचान स्थापित गर्न सफल भएको बताउनुभयो । उहाँले खेलकुद संस्कृति, विचार र विभिन्न क्षेत्रको विविधतालाई जोड्ने कडी रहेको बताउनुभयो ।
क्रिकेटबाट अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न मद्दत पुग्ने पूर्वराष्ट्रपति यादवको विश्वास छ । खेलकुदबाट देशको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने र अनुशासित युवा शक्तिको विकासद्वारा समृद्ध नेपालको निर्माण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले राज्यले खेलकुदको क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभयो ।
पूर्वराष्ट्रपति यादवले अहिले जलवायु परिवर्तनको असर कम गर्न, लागुऔषध नियन्त्रणमा लाग्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले हमासले बन्दी बनाएका नेपालका विपिन जोशीको रिहाईको आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्