५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


प्रकाशराज पाण्डेले अर्जेन्टिनाको हिमाल आरोहण गर्दै, प्रधानमन्त्री ओलीद्वारा बिदाई


182
Shares

काठमाडौं । विश्वका सातै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेका पर्वतारोही प्रकाशराज पाण्डे दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो हिमाल अकोन्कागुआ आरोहणका लागि जान लाग्नु भएको छ ।

आरोही पाण्डेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अभियान सफलताको शुभकामना दिँदै नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेर बिदाई गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले पर्वतारोही पाण्डेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै आरोहण अभियान सफलताको शुभकामना दिनुभएको हो । प्रधानमन्त्रीले समाजमा सकारात्मकता फैलाउने युवाहरुको सवै अभियानमा आफ्नो सधैं साथ रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको थियो । पाण्डे जनवरी २० तारिखमा अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सका लागि प्रस्थान गर्दै हुनुहुन्छ ।

सगरमाथा, मनास्लु, आमादब्लम लगायत नेपालका विभिन्न हिमालको सफल आरोहण गरेका पाण्डेले सातै महादेशका अग्ला हिमाल चढ्ने अभियान सुरु गर्दै सन् २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउण्ट एलब्रस आरोहण गर्नुभएको थियो । त्यसपछि सोही वर्षको नोभेम्बर महिनामा अफ्रिकाको अग्लो चुचुरो किलिमन्जारोको आरोहण पनि गर्नुभएको थियो ।