२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


‘विपद् पूर्वतयारीमा स्वास्थ्यलाई प्राथमिकतामा राखौँ’


208
Shares

काठमाडौं । विपद् पूर्वतयारी गर्दा स्वास्थ्यका कार्यक्रमलाई पनि सँगै अघि बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

विपद्पछि विभिन्न रोगहरु फैलिनसक्ने अवस्थालाई मध्यनजर गरेर सरकारले विपद्का लागि पूर्वतयारी गर्दा स्वास्थ्य क्षेत्रलाई पनि सँगै अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

बाढी, पहिरो, भूकम्पप लगायतका विपद्पछि विभिन्न खालका रोगहरु फैलिनसक्ने भएकाले समयमै ध्यान दिनुपर्ने उनीहरुको सुझाव छ । केही वर्षदेखि विपद्पछिको स्वास्थ्यका क्षेत्रमा काम गर्दै आउनुभएकी स्टार्ट फण्ड नेपालकी कार्यक्रम व्यवस्थापक प्रमिला सुवेदीले सरकारले विपद् पूर्वतयारीमा स्वास्थ्यलाई पनि सँगै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो । विपद्का बेलामा स्वास्थ्यलाई पनि प्राथमिकता दिनसके विपद्पछि फैलिनसक्ने रोगहरुबाट हुने क्षति कम गर्न सकिने बताउनुभयो ।

स्टार्ट फण्ड नेपालले २०२१ देखि विभिन्न प्रकोपको पूर्वानुमानमा आधारित भइ पूर्वकार्य र प्रतिकार्य गर्दै आएको छ । जसमा स्वास्थ्य क्षेत्रमा पनि केही कामहरु गरेको उहाँले बताउनुभयो । डेंगुपश्चातको प्रतिकार्य लगायतका विपद्पछिको स्वास्थ्यका क्षेत्रमा पनि काम गरिसकेको बताउनुभयो । स्टार्ट नेटवर्कको फरवार्नमार्फत स्टार्ट फण्डले आयोजना गरेको कार्यक्रममा ३० वटा संस्थाबाट ४० जनाले प्रतिनिधिले भाग लिएका थिए ।

यता, इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्शनका कार्यकारी निर्देशक सुरज गौतमले नेपाल बहुप्रकोपिय जोखिममा रहेको भन्दै पछिल्लो समय विभिन्न प्रकोपहरु विपद्मा परिणत भइरहेको बताउनुभयो । उहाँले बाढी, पहिरो लगायतका विपद्जन्य घटनाहरुको पूर्वतयारी गर्दा स्वास्थ्यको तयारी पनि गर्नुपर्ने बताउनुभयो । उहाँले विपद्पछि फैलिनसक्ने रोगहरुको न्युनिकरण गर्न स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

कार्यकारी निर्देशक गौतमले जलवायु परिवर्तनका कारण तराईमा मात्रै सिमित हुने रोगहरु बिस्तारै पहाड र हिमालतिर पुगिरहेको अवस्थालाई मध्यनजर गरेर सरकारले आफ्ना योजनाहरु अघि बढाउन जरुरी रहेको बताउनुभयो । विपद्का तयारी गर्दा स्वास्थ्यलाई पनि सँगै जोडेर लैजानसके रोगबाट नागरिकलाई सुरक्षित राख्न सकिने उल्लेख गर्नुभयो ।