
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्रको विगुल फुकेका सार्वजनिक सेवा प्रशारण संस्थाहरु सत्ता र व्यक्ति विशेषको चाकडी गर्ने संस्थाको रुपमा विकास भएको बताउनुभएको छ ।
मंगलबार सार्वजनिक सेवा प्रसारण (पिएसबी)को पूर्वारम्भ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले कानूनी जटिलताका कारण संस्थाको सिद्धान्तअनुसार चलाउन नसक्दा सत्ता र निश्चित व्यक्तिको चाकडी गर्ने संस्थाको रुपमा विकास भएको बताउनुभएको हो ।
मन्त्री गुरुङले रेडियो नेपालले लगातार ३० वर्षसम्म तत्कालिन पञ्चायतको ताबेदारी गरेको आरोप लगाउनुभयो । जनतामाझ सही सूचना संप्रेषण गर्न नसक्दा रेडियो नेपालमाथि मिथ्या सूचना संप्रेषण गर्ने गरेको आरोप लाग्दै आएको मन्त्री गुरुङले बताउनुभयो । उहाँले रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रशारण सुधार गर्न विभिन्न कालखण्डमा सुझाव समिति तथा कार्यदल बनेका भएपनि संविधान निर्माण, भारतको नाकाबन्दी र भूकम्पको सामना गर्नुपर्दा ति सुझावहरु कार्यान्वयन गर्न नसकिएको बताउनुभयो ।
मन्त्री गुरुङले केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पिएसबी पास भई कार्यान्वयनमा आएको उल्लेख गर्दै अब सार्वजनिक सेवा प्रशारण संस्थाहरु सुधारको दिशामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सार्वजनिक सेवा प्रशारण संस्थाहरुले उत्कृष्टतामा विश्वास गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले सार्वजनिक सेवा प्रशारण संस्थाहरुले विश्वभरी सूचना प्रदान गर्न नसकेपनि नेपालभर समाचार सेवा दिन सक्नुपर्ने बताउनुभयो । नेपालका प्रत्येक भुगोलमा समाचार सेवा पु¥याउन सकेको ठूलो उपलब्धी मान्नुपर्ने उहाँको भनाइ छ ।
नेपालभित्रका सम्पूर्ण घरहरुभित्र नेपाल टेलिभिजन हेरिने र रेडियो नेपाल सुनिने गरी विकास गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले सार्वजनिक प्रशारण संस्थाको सिद्धान्तअनुसार अघि बढ्दै नेपाली विशेषताको आधारमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्