Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


आयल निगमले नयाँ कार्य योजनाको खोजी गर्न आवश्यक : उद्योगमन्त्री भण्डारी


169
Shares

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमले नयाँ कार्य योजनाको खोजी गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार नेपाल आयल निगम लिमिटेडको ५५ औं वार्षिकोत्सव समारोहमा बोल्दै उद्योगमन्त्री भण्डारीले नेपाल आयल निगमको हरेक वर्ष व्यापार घट्दो अवस्थामा रहेको भन्दै पेट्रोलियम ग्यास बाहेक अन्य व्यवसायको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निगमले व्यापारको नयाँ विकल्प खोज्न जरुरी देखिएको उल्लेख गर्नुभयो ।

उद्योगमन्त्री भण्डारीले ५५ वर्ष पूरा गरेर अर्बको नाफा कमाउने र लाभांश बाँड्ने मात्रै भन्दा पनि आगामी दिनको यात्रामा आउने चुनौति लगायतका विषयलाई लिए नयाँ कुराको खोजि गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले निगमले तेल मात्रै बेचेर मुनाफामा रमाउने कुरा लामो समयसम्म नरहने बताउनुभयो ।

उद्योगमन्त्री भण्डारीले पेट्रोलियम पदार्थको विल्कपको सिर्जना भएकाले अब निगमको प्रबन्धपत्रसँग जोडिएका अधिकार क्षेत्रहरुमा पर्ने नयाँ खालको काम खोज्ने कार्ययोजना बनाउन निगम नेतृत्वलाई निर्देशन दिनुभयो । उहाँले नयाँ कार्यको खोजि गरिएन भने तेलमात्रै बेचेर संस्था खुम्चँदै धरापमा पर्न जाने बताउनुभयो ।

उद्योगमन्त्री भण्डारीले निगमको ग्राफलाई बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले अत्यावश्यक वस्तुको ढुवानी, व्यवस्थापन, वितरण र व्यवसायीकतामा निगमले सफलता पाएपनि बाहिरबाट हेर्ने दृष्टिकोण फरक रहेको बताउनुभयो । उहाँले निगम अत्यावश्यक वस्तुको सेवामा भरपर्दो संस्था भएकाले निगमलाई नयाँ ढङ्गमा लैजान कार्ययाजना बनाउन आवश्क देखिएको उल्लेख गर्नुभयो । उहाँले प्रट्रोलियमसँगै जोडिएको एलपीजी ग्यासलाई पनि पाइपलाइनबाट बोटलिङ गरी गुणस्तर र भरपर्दो बनाउने विषयलाई पनि प्रश्ताव चाँडै निर्णय हुने अवस्था रहेको बताउनुभयो ।

उद्योगमन्त्री भण्डारीले सरकारले पेट्रोलियम पदार्थमा इथानोल प्रविधिलाई भित्र्याउन खोजिएको बताउनुभयो । उहाँले पेट्रोलिय पदार्थमा इथानोललाई मिश्रण गर्ने सरकारको तयारी रहेको बताउनुभयो ।