काठमाडौं । खेलकुदलाई पर्यटन प्रवद्र्धन र अर्थतन्त्रसँग जोडेर अघि बढाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
बुधबारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरुले खेल क्षेत्रलाई पर्यटन प्रवद्र्धनसँग जोडेर अर्थतन्त्र उन्नयनका लागि जोड दिनुपर्ने सांसहरुले बताएका हुन् ।
उनीहरुले नेपाल खेलकुद क्षेत्रको हब बन्नसक्ने भएकाले सरकारले सोहीअनुसारका योजना र बजेट छुट्याउनुपर्ने आवश्यकता औंल्याए । समितिको बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी)का सांसद उदयबहादुर बोहराले खेल क्षेत्रको विकासका लागि युवा तथा खेलकुद मन्त्रालयले तदारुकता देखाउनुपर्ने बताउनुभयो । उहाँले समस्या छन् भनेर बस्ने भन्दा पनि बजेट सुनिश्चिततासहितका समस्याहरु समधान गर्न पहल गर्नुपर्ने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय स्तरको खेलाडी जन्माए पनि अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन नसक्नु दुःखको विषय भएको बताउनुभयो ।
बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले नेपालमा खेलकुदका लागि विश्वमै चर्चित हुनुपर्ने ठाउँ र आधारहरु रहेको उल्लेख गर्नुभयो । उहाँले खेल क्षेत्रको भौतिक पूर्वाधारका लागि राज्य लाग्न नसकेको बताउनुभयो । उहाँले खेल क्षेत्रलाई उत्साहित बनाउनुपर्ने योजना सरकारले प्रभावशाली रुपमा ल्याउन नसकेको गुनासो गर्नुभयो ।
बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले संसारमा सबैभन्दा लोकप्रिय खेल फुटबल र क्रिकेट रहेको र नेपालमा पनि सोहीअनुसार लोकप्रियता कमाएपनि अन्तर्राष्ट्रिय स्तरको रंगशाला नहुनु दुःखको विषय भएको बताउनुभयो । उहाँले दर्शकहरु दिनप्रतिदिन बढिरहने र पूर्वाधारको अभाव हुने कारणले खेलकुदबाट आर्थिकोपार्जनमा समस्या भएको बताउनुभयो । क्रिकेटप्रतिको आकर्षणलाई सरकारले गम्भीर भएर ध्यान दिनुपर्ने बताउनुभयो ।
बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद गोपीबहादुर सार्की अछामीले समग्र देशको अर्थतन्त्रको स्थिति नै अहिले विकास निर्माणको लागि बाधक बनिरहेको बताउनुभयो । उहाँले सार्वजनिक श्रण दायित्व २५ खर्ब १८ अर्ब हाराहारीमा रहेको उल्लेख गर्दै राजश्वले कर्मचारीलाई नियमित प्रशासनिक खर्च समेत धान्न नसकिरहेको अवस्था रहेको बताउनुभयो । उहाँले नेपाल खेलकुदमा सम्भावनाको क्षेत्र भएको बताउनुभयो । पर्याप्त र प्रशस्त पूर्वाधार अभावले सम्भावनाहरु प्रोत्साहन गर्न नसकिएको बताउनुभयो ।
सांसद सार्कीले खेलका धेरै विषयहरुलाई सम्बोधन गर्नसकिने बताउनुभयो । खेलबाट आर्जन गर्नुका साथै खेलबाट पर्यटन ल्याउनेतर्फ सरकार अग्रसर हुनुपर्ने बताउनुभयो । खेलकुदबाट राज्यलाई आर्थिक हिसावले सबल बनाउन सबैले पहल गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्