काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणका लागि सरकारसँग प्रविधियुक्त जनशक्तिको अभाव रहेको बताउनुभएको छ ।
बुधबारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै खेलकुदमन्त्री चौधरीले आवश्यक इन्जियिरहरु नहुँदा पनि गौरवका योजनाहरु अघि बढ्न नसकेको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय क्रिकेटमा बढेको लोकप्रियताले खेलेर पनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश प्रवाहित भएको बताउनुभयो ।
खेलकुदमन्त्रीले खेलकुदलाई अब आर्थिक आर्जन र खेल पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो । सरकारले अहिले पूर्वाधार अघि बढाउने प्रयास गरिरहेको र श्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा पठाइएको बताउनुभयो ।
खेलकुदमन्त्री चौधरीले खेलकुद मन्त्रालयमा जम्मा ३ अर्ब ५० करोड रुपैयाँ बजेट रहेको र यो पर्याप्त नभएको बताउनुभयो । मन्त्रालयलाई प्राप्त बजेटबाट एक अर्ब ३२ करोड रुपैयाँ पुँजीगत खर्च रहेको बताउनुभयो । त्यसमा ५० करोड रुपैयाँ एउटै मुलपानीमा र ६० करोड रुपैयाँ १० औं खेलकुदका लागि छुट्याएको बताउनुभयो । बाँकी २० करोड रुपैयाँ कीर्तिपुर रंगशालाका लागि छुट्याइएको बताउनुभयो । त्यसमध्येको ठूलो योजना कीर्तिपुर क्रिकेट मैदान श्रोत सुनिश्चितता नहुँदा अर्थ मन्त्रालयमा एक हप्तादेखि अड्किएर बसेको जानकारी दिनुभयो ।
खेलकुदमन्त्री चौधरीले काठमाडौंभित्र थप एउटा फुटबल रंगशाला, क्रिकेट रंगशाला र भलिबल कभर्ड हल आवश्यक रहेको बताउनुभयो । उहाँले फुटबल मैदानका लागि काठमाडौंभित्र जग्गा हेर्न थालेको दुई महिना भइसक्दा पनि पाउन नसकेको उल्लेख गर्नुभयो । उहाँले खेलकुदका लागि नीतिहरु बाधक बन्दा मित्र राष्ट्रहरुले सहयोग गर्छु भनेको रकम पनि ल्याउन नसकिरहेको बताउनुभयो ।
खेलकुदमन्त्री चौधरीले सबै रंगशालाहरु व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि २५ अर्ब रुपैयाँ आगामी वर्षको बजेटमा आवश्यक पर्ने बताउनुभयो । आर्थिक र पर्यटनकीय दृष्टिकोणबाट खेलकुद मन्त्रालयलाई अघि बढाउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्