Logo १३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026


राजनीतिक तहमा सबैभन्दा पहिला स्वच्छता कायम हुनुपर्छ : अध्यक्ष दाहाल


182
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक तहमा स्वच्छता कायम हुन जरुरी रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको ७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्र्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

अध्यक्ष दाहालले देशको स्थिति अलि गम्भीर र जटिल अवस्थामा रहेको बताउनुभयो । उहाँले देशमा राजनीतिक तहमा सबैभन्दा पहिला स्वच्छता कायम हुनुपर्ने बताउनुभयो । उहाँले राजनीतिमा राम्रो नियत र निष्ठाका साथ काम गर्ने संस्कार बसेन भने सबैतिर त्यसको नकारात्मक असर पर्ने उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले राजनीति नीतिहरुको राजा भएकाले राजनीति सफा हुनुपर्ने बताउनुभयो । सुशासन, सामाजिक न्याय र आर्थिक विकासको निम्ति सहकार्य गर्न आफू तयार रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले साना तथा मझौला उद्योगी, व्यवसायीहरुलाई स्थानीय सरकारको सिफारिसमा बिना धितो सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने, व्यवसाय दर्ता प्रणाली एकद्वार प्रणालीबाट हुनुपर्ने, भन्सार दर समय सापेक्ष परिमार्जन गर्नेपर्ने, शहरी क्षेत्रमा उद्योग व्यापार व्यवसाय गर्नका लागि वैज्ञानिक घर भाडा कर लागू गर्नुपर्ने, खाता विवरणहरुको आधारमा कर कार्यालयबाट कर चुक्ता प्रमाणपत्र प्रदान गरेपश्चात पुनरावलोकन हुन नहुने लगायतका महासंघका एजेण्डा समय सान्दर्भिक रहेको बताउनुभयो ।