काठमाडौं । बैंकहरुको आम्दानीको स्रोत सिमित हुँदा बैंकहरुको मुनाफामा दबाब सिर्जना भएको सरोकारवालाहरुले बताएका छन् ।
नेपालको बैंक तथा वित्तीय संस्थाहरुको आम्दानीको स्रोत सिमित हुँदा पछिल्लो समय मुनाफा घट्दै गएको उनीहरुको दाबी छ ।
बैंकहरुको ८० प्रतिशत आम्दानी कर्जा लगानीको ब्याजमा नै निर्भर रहेको छ । पछिल्लो समय बैंकहरुले निजी क्षेत्रमा कर्जा प्रवाह गर्न सकेका छैन । त्यसले पनि आम्दानीमा कमी देखिएको छ ।
बैंकर्सहरुकाअनुसार बैंकहरुको कर्जा लगानीको ब्याज तथा सावाँ समेत संकलन गर्न मुस्किल देखिएकाले आम्दानीमा मात्रै नभएर सम्पती गुणस्तरमा समेत कमजोर बन्दै गएको देखिन्छ । बैंकको सम्पती कर्जाको धितो नै ८० प्रतिशत रहेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुको पछिल्लो समय खराब कर्जा समेत उल्लेख्य मात्रामा बढ्दै गएको छ । यसले बैंक तथा वित्तीय संस्था समस्या र चुनौतिपूर्ण अवस्थामा पु¥याउन सक्ने अवस्था देखिएको उनीहरुको भनाई छ । बैंक तथा वित्तीय संस्थामा पर्ने असरले समग्र मुलुकको अर्थतन्त्रमा समेत चुनौति देखिने सरोकारवालाहरुको भनाई छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उच्चस्तरीय आर्थिक सुधार आयोगका संयोजक रामेश्वर खनालले नेपालको अर्थतन्त्रमा तीन प्रमुख अन्तरबिरोध रहेको बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्रमा मुख्य गरी बैंकिङ र वित्तीय क्षेत्रमा देखिएका समस्यासँगै आन्तरिक र वाह्य क्षेत्रको सन्तुलनमा चुनौति रहेको बताउनुभयो ।
संयोजक खनालले बैंक तथा वित्तीय क्षेत्रको नियमन प्रभावकारी भए पनि बैंकहरुको सम्पतीको गुणस्तर घट्दो अवस्थामा रहेको बताउनुभयो । उहाँले खराब सम्पतिको देखिने आकार मात्रै घट्दै गएको देखिए पनि नदेखिने आँकडा कहालि लाग्दो अवस्था रहेको उल्लेख गर्नुभयो ।
संयोजक खनालले बैंकहरुको सम्पतिको गुणस्तर कमजोर देखिइएका अन्तर्राष्ट्रिय निकायहरुले बैंकहरुको मूल्याङ्कन परम्परागत नियमनले मात्रै नभएर ऋणीकै तहमा पुग्न र कर्जा लिएको व्यक्ति वा संस्थाले कर्जा उपयोगका विषयमा छानविन गर्नुपर्ने प्रश्न उठाएको उल्लेख गर्नुभयो । उहाँले प्रभावकारी नियमन भएपनि बैंकको सम्पति गुणस्तर नहुँदा चाहेको क्षेत्रमा लगानी प्रवाह हुन नसकेको बताउनुभयो ।
संयोजक खनालले बैंक तथा वित्तीय संस्था र रियल क्षेत्रबीचको सम्बन्ध प्रभावकारी नभएको बताउनुभयो । उहाँले अहिले बजारमा ७ सय अर्ब बढी तरलता भएपनि व्यक्तिको हातमा तरलता नभएको बताउनुभयो । उहाँले बजारमा गएको तरलता व्यक्तिको हातमा पुग्ने संयन्त्र कुण्ठित भएको उल्लेख गर्नुभयो ।
संयोजक खनालले उद्योगी व्यवसायीहरुमा धेरै कर्जाको भार भएकाले अहिले थप कर्जा लिनसक्ने अवस्था नभएको र जोखिम व्यहोर्नसक्ने क्षमता नभएको दाबी गर्नुभयो । उहाँले उधारो व्यापारको कारण समस्या बन्दै गएको जानकारी दिनुभयो । उहाँले २२ वटा समस्याग्रस्त सहकारीले मात्रै ४२ अर्ब निक्षेप फिर्ता नभएको र समस्याग्रस्त हुने सहकारीमा थप गरी करिब ७८ अर्ब रकम आम नागरिकको हातबाट गुमेको बताउनुभयो ।
संयोजक खनालले वाह्य क्षेत्र राम्रो हुँदा आन्तरिक क्षेत्रको सबलता बढ्नुपर्ने बताउनुभयो । उहाँले आन्तरिक क्षेत्र बलियो नभएको कारण निर्यातमा कमी देखिएको र यसले वाह्य क्षेत्रको विकासमा चुनौति सिर्जना गरेको बताउनुभयो । उहाँले निजी क्षेत्रको लगानी वृद्धि र फस्टायो भने मात्रै मुलुकको अर्थतन्त्र बलियो हुने उल्लेख गर्नुभयो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले बैंकको आम्दानी स्रोत सिमित हुँदा नाफामा दबाब देखिएको बताउनुभयो । उहाँले अहिले औषतमा बैंकहरुको खराब कर्जा ४.४२ प्रतिशत पुगेको भन्दै अझै थपिने अवस्था देखिएका बताउनुभयो । उहाँले बैंकहरुको ८० प्रतिशत आम्दानी ब्याजमा नै निर्भर रहेको दाबी गर्नुभयो ।
कार्यकारी निर्देशक पौडेलले बैंकको सम्पती लोनको धितो नै ८० प्रतिशत रहेको बताउनुभयो । उहाँले बैंकको आम्दानी स्रोत एकै किसिमको मात्रै रहेको बताउनुभयो । उहाँले २०४० सालमा जब निजी क्षेत्र प्रवेश गरेसँगै ४० अर्ब निक्षेपको आकार ८ प्रतिशत कर्जामा देखिएको उल्लेख गर्नुभयो । उहाँले अहिले कुल जिडिपिको ९० प्रतिशत कर्जा निजी क्षेत्रको ऋण पुगेको बताउनुभयो । उहाँले बैंकबाट कर्जा लिनेहरु अलि बढी जिम्मेवार हुनुपर्ने अवस्था देखिएको उल्लेख गर्नुभयो ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुरेन्द्र रेग्मीले बैंकहरुको आरोही घट्दै गएको बताउनुभयो । उहाँले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्या र चुनौति समाधान गर्नको लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले बैंकहरुको खराब कर्जा बढेर गएको बताउनुभयो ।
अध्यक्ष रेग्मीले बैक विरुद्ध विभिन्न खालका नकारात्मक गतिविधिहरु हुने गरेको बताउनुभयो । उहाँले देशमा बैंक तथा वित्तिय संस्थाको विकास हुन नसके मुलुकको आर्थिक विकास हुन नसक्ने उल्लेख गर्नुभयो । उहाँले बैंकहरुले जनताको पैसा लगानी गरेकाले बैंकमा र्फिता आउन सकेन भने अफ्ठ्यारो अवस्था आउने बताउनुभयो ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष उपेन्द्र पौडेलले बैंकहरुले सम्भावना भएको क्षेत्रमा लगानी गर्दै आएको बताउनु भयो । उहाँले ऊर्जाको क्षेत्रमा बैंकहरुको लगानी उच्च रुपमा भएको बताउनुभयो । उहाँले जलविद्युतमा बैंकको लगानीकै कारण विद्युत उत्पादन गरी निर्यातमा थालनी भएको बताउनुभयो । उहाँले सिमेन्टमा पनि भारत निर्यात गर्ने अवस्थामा पुगेको बताउनुभयो । उहाँले स्टिल, सिमेन्ट लगायत अन्य उद्योगमा लिएको सफलता बैंकहरुको लगानीको कारण भएको उल्लेख गर्नुभयो ।
अध्यक्ष पौडेलले बैंकहरुले उद्योग व्यवसायीमा ७२ प्रतिशत बढी लगानी गरेको दाबी गर्नुभयो । उहाँले कृषि क्षेत्रमा बैंकको लगानी नभएको आरोप लाग्दै आएको बताउनुभयो । उहाँले कृषि क्षेत्रमा बैंकको लगानी हुनुमा बैंकहरु मात्रै उत्तरदायित्व भित्र नभएको बताउनुभयो । उहाँले कृषिमा राज्यले दिन सक्ने सुविधा दिन नसक्दा कृषकले कर्जा तिर्न नसक्ने देखेर लगानी नगरेको स्पष्ट गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्