काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताका समस्या समाधान गरी बलियो नेपाल निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा राष्ट्रिय मेलमिलाप दिवस एवं सय दिने विशेष अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो बताउनुभएको हो । उहाँले जनताको आर्थिक प्रगति अहिलेको आवश्यकता भएको बताउनुभयो ।
उहाँले पछाडि परेका जनतालाई अगाडि ल्याउनुपर्ने, दलित, महिलाका समस्या समाधान गरेर आर्थिक प्रगतिको पक्षमा नेपाली काँग्रेस पार्टीले डो¥याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
नेता सिटौलाले काँग्रेस र नेकपा एमाले मिलेर संयुक्त सरकार बनाएको र प्रधानमन्त्रीमा केपी शर्मा ओली रहनुभए पनि सरकारको नीतिगत नेतृत्व नेपाली काँग्रेसले गरिरहेको बताउनुभयो । समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व नेपाली काँग्रेस पार्टीले गरिरहेको उहाँको दाबी छ ।
नेता सिटौलाले भन्नुभयो, ‘अहिले हामी संयुक्त सरकारमा छौँ । ठूला पार्टीहरु काँग्रेस र एमाले मिलेर संयुक्त सरकार बनाएका छौँ । प्रधानमन्त्री केपी ओलीजी हुनुहुन्छ । तथापि हामी गर्वका साथ भन्छौँ, नीतिगत नेतृत्व नेपाली काँग्रेसले गरिरहेको छ । राज्य सञ्चालनको नेतृत्व प्रधानमन्त्रीले गर्नुभएको होला तर नेपालको समग्रमा नेपाली जनतालाई अघि बढाउने नीतिगत नेतृत्व नेपाली काँग्रेस पार्टीले गरिरहेको छ ।’
नेता सिटौलाले नेपालको अस्तित्वको रक्षाका लागि, नेपाली जनताको आर्थिक समृद्धि र प्रगतिको लागि नेपाली काँग्रेसले सबै राजनीतिक दलहरुलाई एकाकार गरेर राष्ट्रिय मेलमिलाप निर्माण गरी अघि बढ्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्