काठमाडौं । च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा पुस १५ गते काठमाडौंमा च्याउ मेला तथा परिकार महोत्सव हुने भएको छ ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै संघका महासचिव विकास रिमालले पौष १५ गते काठमाडौंको भृकुटीमण्डपमा एक दिने च्याउ मेला सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँकाअनुसार ‘च्याउ किसानको जागरुकता, व्यवसायिक उत्पादनद्वारा आत्मनिर्भरता’भन्ने नारासहित यस वर्ष च्याउ दिवस मनाइँदैछ । हरेक वर्षको पौष १५ लाई राष्ट्रिय च्याउ दिवसका रुपमा मनाउने गरिएको बताउनुभयो ।
महासचिव रिमालले मेलामा ४० वटा स्टल रहने र १५ गते बिहान नै कालिमाटी तरकारी तथा फलफूल बजारबाट भृकुटीमण्डसम्म मोटरसाइकल ¥याली हुने जानकारी दिनुभयो । गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यवहारिक प्रयोगात्मक प्रदर्शनी मेलामा हुने बताउनुभयो ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष सन्तोष कार्कीले च्याउमा नेपाल अब छिटै नै आत्मनिर्भर बन्ने बताउनुभयो । उहाँले विदेशबाट आयात हुने गोलो च्याउ प्रतिष्थापन गर्न सफल भएको बताउनुभयो । २०७९–०८० मा ३ लाख १७ हजार ९३३ किलो भन्सारबाट गोलो च्याउ आयात भएको भएपनि २०८०–०८१ मा ८२ हजार ३१० किलो मात्रै आयात भएको बताउनुभयो ।
अध्यक्ष कार्कीले सस्तो र व्यवस्थित उत्पादन प्रणालीसँग प्रतिष्पर्धा गर्न किसान र उत्पादन सक्षम र प्रतिष्पर्धी हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्