काठमाडौं । नेकपा (एमाले)ले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ ।
बुधबार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी सचिवालयको बैठकले यस्तो निर्णय गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।
बैठकले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रिय कमिटी सदस्य उषाकिरण तिमल्सिनाको जिम्मेवारी समेत खोसेको छ । पार्टीको भवन निर्माणको सन्दर्भमा विधानभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै दुवैजनामध्ये पाण्डेलाई स्थायी कमिटीबाट र तिमल्सिनालाई केन्द्रिय कमिटीबाट ६ महिनाका लागि निलम्वित गरिएको ज्ञवालीले बताउनुभयो ।
उपमहासचिव ज्ञवालीले बैठकमा पार्टी केन्द्रीय कमिटिको आठौँ बैठक यही पुस २१ र २२ गते केन्द्रीय कार्यालय काठमाडौंमा गर्ने निर्णय भएको समेत बताउनुभयो । उहाँले केन्द्रिय कमिटि बैठकमा राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरुबारे जानकारी, विगतमा सचिवालय र स्थायी कमिटिले गरेका निर्णयहरुको अनुमोदन एजेण्डा तय गरेको समेत बताउनुभयो ।
उपमहासचिव ज्ञवालीले बैठटकमा सरकारको पाँच महिनाको कार्यप्रगतिबारे समेत समिक्षा गरिएको बताउनुभयो । बैठकले सरकार सही दिशामा अगाडि बढेको बैठकले निष्कर्ष निकालेको बताउनुभयो । उहाँले सरकार अझै राम्रो दिशामा अगाडि बढनुपर्ने आवश्यता बोध गरेको समेत बताउनुभयो ।
उपमहासचिव ज्ञवालीले बैठकमा संविधान र संघीयताको गम्भिर समिक्षा गर्नुपर्नेबारे छलफल भएको भन्दै यसका लागि कार्यदल बनाउने काममा अघि बढ्ने निर्णय भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्