काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफी क्रिकट २०२५ को खेल तालिका सार्वजनिक भएको छ । पाकिस्तान र युएईमा आगामी फेब्रुअरी र मार्चमा हुने प्रतियोगिताका लागि अन्तराष्ट्रिय क्रिकेट परिषद्ले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो ।
तालिका अनुसार उद्घाटन खेल फेब्रुअरी १९ मा पाकिस्तान र न्युजिल्याण्ड बीच कराचीमा हुनेछ । भारत र पाकिस्तानबिचको बहुचर्चित खेल फेब्रुअरी २३ मा दुबईमा हुनेछ ।
प्रतियोगितामा भारत सहभागी हुने सबै खेल यूएईको दुबईमा हुने भएको छ । भारत सेमिफाइनल पुगेको खण्डमा एक सेमिफाइनल पनि दुबईमा नै हुनेछ । फाइनल खेल पाकिस्तानको लाहोरमा हुने तय भएपनि भारत फाइनल पुगेको अवस्थामा दुबईमा नै सारिनेछ ।
आठ वर्षपिछ हुन लागेको च्याम्पियन्स ट्रफीको पाकिस्तान साविक विजेता हो । अन्तिम पटक सन् २०१७ मा भएको च्याम्पियन्स ट्रफी फाइनलमा भारतलाई हराएर पाकिस्तान च्याम्पियन बनेको थियो । भारतले पाकिस्तानमा खेल्न अस्वीकार गर्दै आएकोमा केही दिनअघि भएको आइसीसीको निर्णयअनुसार सन् २०२७ सम्म हुने भारत र पाकिस्तानबीचका सम्पूर्ण खेल तटस्थ स्थानमा गर्ने तय भएको थियो ।
च्याम्पियन्स ट्रफीको समूह ए मा पाकिस्तान, भारत, बंगलादेश र न्यूजिल्याण्ड छन्भने समूह बी मा अफगानिस्तान, दक्षिण अफ्रिका, अस्ट्रेलिया र इंग्ल्याण्ड रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्