५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


स्वास्थ्य सेवा सुधारका लागि सरकारले गरेका निर्णयहरु कार्यान्वयन गर्न बजेटको समस्या हुँदैन : मन्त्री पौडेल


91
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा सुधारका लागि सरकारले गरेका निर्णयहरु कार्यान्वयन गर्न बजेटको समस्या नहुने बताउनुभएको छ ।

मंगलबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले नयाँ कानूनी प्रवन्ध नगरी पुरानै निर्णयहरुलाई कार्यान्वयन गर्दा आर्थिक भार हुने स्थिति रहेको बताउनुभएको हो ।

स्वास्थ्यमन्त्री पौडेलले विगतमा स्वास्थ्य क्षेत्रमा भएका कतिपय निर्णयहरु कार्यान्वयन नभएकाले मन्त्रालयले सम्बन्धित निकायहरुलाई घच्घच्याउने काम गरेको बताउनुभयो । उहाँले १४ वर्षमुनिका बालबालिकाहरुको क्यान्सर उपचार निःशुल्क गर्नको समेत अस्पतालभित्रै रहेका जनशक्ति र उपकरणको प्रयोग गरेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले जलनको उपचारको लागि ८ वटा अस्पताललाई जलन उपचार केन्द्रको रुपमा विकास गरि काम गरिरहेको बताउनुभयो । उहाँले सरकाले धेरै आर्थिक भार हुने विषयमा नगरेकाले स्रोत सुनिश्चित नभएर कुनै पनि कार्यक्रम नरोकिने स्पष्ट पार्नुभयो ।

सरकारले गरेका उपचारसम्बन्धी निर्णयहरु कार्यान्वयनमा समस्या नभएपनि स्रोतको अभावका कारण जनशक्ति थप्ने अवस्था नरहेको स्वास्थ्यमन्त्री पौडेलको भनाइ छ । उहाँल उपलब्ध जनशक्ति, उपकरण र पूर्वाधारको सक्दो उपयोग गर्नसके मात्र स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन सकिने बताउनुभएको हो ।

बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा स्वास्थ्य मन्त्रालयसँग छलफल भएको छ ।