काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले फौजदारी न्याय प्रणालीलाई गतिशिल, प्रभावकारी एवं विश्वसनिय बनाउनुपर्ने बताउनुभएको छ ।
महान्यायाधिवक्ता कार्यालयको ७४ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायधीश राउतले फौजदारी न्याय प्रणालीलाई गतिशिल, प्रभावकारी एवं विश्वसनिय बनाइ पीडितको पुनःस्थापना र प्रतिनिधित्वलाई स्वच्छ, सुनुवाईको प्रत्याभुति गरी यस प्रणालीप्रति सर्वसाधारणको विश्वास अभिवृद्धि गर्न महान्यायाधिवक्ता कार्यालयको अहं भुमिका रहने बताउनुभयो ।
प्रधानन्यायधीश राउतले स्वतन्त्र, सक्षम तथा प्रभावकारी फौजदारी न्याय प्रशासनको माध्यमबाट कानूनको शासन र न्यायपूर्ण समाजको स्थापना गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले फौजदारी न्याय प्रणालीको प्रभावकारिता र विश्वसनियताको लागि त्यसमा आवद्ध संस्था र निकायहरुको सक्षमता, निष्पक्षता, व्यवसायिकता र जवाफदेहिता अपरिहार्य रहेको बताउनुभयो ।
प्रधानन्यायधीश राउतले अपराधको प्रकृतिमा आएको परिवर्तन एवं सूचना प्रविधिको प्रयागमार्फत हुने अपराधका कारण अपराधको अनुसन्धान तथा अभियोजनमा समेत चुनौति थपिएको बताउनुभयो । यस किसिमको चुनौतिको सामना गर्न फौजदारी न्याय प्रशासनको क्षेत्रमा सूचना र प्रविधिको प्रयोगलाई बिस्तार गर्नुका साथै जनशक्तिको क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो । प्रभावकारी अभियोजन र प्रतिरक्षाका लागि नीतिगत, कानूनी, कार्यविधिगत सुधार, आवश्यक मापदण्डहरुको निर्माण र सरकारी वकिल कार्यालयको भौतिक पूर्वाधार सुधार, विशिष्टिकृत लगायतका तालिमहरुमार्फत जनशक्तिको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको बताउनुभयो ।
प्रधानन्यायधीश राउतले सरकारी वकिल कार्यालयको संस्थागत सुदृढिकरण र सरकारी वकिलहरुको व्यवसायिक अभिवृद्धिको लागि महत्वपूर्ण काम भइरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्