७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


त्रिभुवन विमानस्थलको सुधारको कार्य योजना १५ दिनभित्र पेस गर्न मन्त्री पाण्डेको निर्देशन


455
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारको लागि कार्ययोजना बनाएर १५ दिनभित्र पेस गर्न सरोकारवाला निकायहरुलाई निर्देशन दिनुभएको छ ।

सोमबार त्रिभुवन विमानस्थलमा देखिएका समस्या र सुधारका योजनाबारे सरोकारवाला निकायहरुसँगको छलफलमा मन्त्री पाण्डेले विमानस्थलसँग सरोकार राख्ने निकाय र मन्त्रालयलले गर्नुपर्ने सुधारका कामहरुबारे कार्य योजना बढाएर अगाडि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले कार्ययोजना पठाएपछि सम्बन्धित निकायहरुमा कार्यान्वयनका लागि पठाउने र सरकारको तर्फबाट गर्नुपर्ने कामहरु गर्न सरकार प्रतिवद्ध रहेको समेत बताउनुभयो ।

मन्त्री पाण्डेले विमानस्थललाई उच्चतम प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभयो । उहाँले उहाँले ४६ लाख यात्रुको ओहोरदोहोर गर्ने क्षमताको विमानस्थल टर्मिनलमा ९६ लाख यात्रु ओहोरदोहोर गर्ने गरेको उल्लेख गर्दै यसको समाधानको एउटा मात्र विकल्प प्रविधिको उच्चतम प्रयोग भएको बताउनुभयो ।

छलफलमा क्यान, विमानस्थल कार्यालय, विमानस्थल भन्सार कार्यालय, नेपाल वायुसेवा निगम र सुरक्षा निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।