काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल बार एशोसिएशनसँग आफ्नो कुनै विमति नरहेको स्पष्ट पार्नुभएको छ ।
आइतवार बार दिवसको अवसरमा भक्तपुर जिल्ला अदालत बार एशोसिएशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल बारसँग आफ्नो परिषद्को हैसियतमा पनि कुनै विमति नरहेको बताउनुभयो ।
उहाँले प्रधानन्यायाधीशलाई संविधानले नै निश्चित कामहरु तोकिदिएको उल्लेख गर्दै आफ्नो लागि निश्चित कर्तव्यहरु कानूनले तोकिदिएको बताउनुभयो । उहाँले बारका लागि आफूले वैधानिक तवरबाट कति सम्बोधन गर्नसकिन्छ भन्ने मात्रै प्रश्न रहेको बताउनुभयो ।
बारको अतित गौरवपूर्ण रहेको उल्लेख गर्दै वर्तमान कस्तो छ र वर्तमान परिवेशमा बारको भुमिका, गतिविधि, क्रियाकलाप र कामकारवाही आउने पुस्ताका लागि गौरवपूर्ण हुनसक्छ की सक्दैन भन्ने प्रश्न रहेको बताउनुभयो । यसबारे बार आफैले छलफल गर्नुपर्ने बताउनुभयो ।
‘बारको अतित गौरवपूर्ण छ । वर्तमान कस्तो छ, वर्तमान परिवेशमा बारको भुमिका, गतिविधि, क्रियाकलाप र कामकारबाही आउने पुस्ताको लागि गौरवपूर्ण हुनसक्ला की नसक्ला ? यसको वृहंगम छलफल तपाईंहरु आफैँ गर्नुस् । गौरवपूर्ण यसै हुँदैन है ।’ प्रधानन्यायाधीश राउतले भन्नुभयो ।
प्रधानन्यायाधीश राउतले कानून व्यवसायीहरुको पेशालाई मर्यादित र समृद्ध बनाउन आवश्यक रहेको बताउनुभयो । कानून व्यवसायीहरुले निष्ठालाई कायम राखेर मात्रै निष्पक्ष न्याय दिनसक्ने बताउनुभयो । पेशा मर्यादित नभएसम्म कानून व्यवसायीहरु सफल हुन नसक्ने बताउनुभयो । उहाँले न्यायाधीश डराए जनता डराउने र न्यायाधीशले जोखिम लिए नागरिक निश्चिन्त हुने बताउनुभयो । -न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्