५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


कांग्रेस, एमाले, माओवादी र मधेशबादी सबै भ्रष्टाचारमा लिप्त छन् : अध्यक्ष भट्टराई


819
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख तीन राजनीतिक दलहरु चरम भ्रष्टाचारमा डुबेको आरोप लगाउनुभएको छ ।

जनकपुरमा शनिबार नेपाल समाजवादी पार्टी मधेश प्रदेश कमिटीको कार्यालय उद्घाटन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताउनुभएको हो ।

अध्यक्ष भट्टराईले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र मधेशवादी राजनीतिक दलहरु चरम भ्रष्टाचारमा लिप्त रहेको बताउनुभयो । उहाँले आफूले गरेका भ्रष्टाचारहरु लुकाउन सरकार फेरिने र एकले अर्कोलाई आरोप लगाउने गरेको बताउनु भयो ।

अध्यक्ष भट्टराईले भ्रष्टाचारतन्त्रमा फसेको राजनीतिलाई भ्रष्टाचाररहित, सुशासनयुक्त राजनीति स्थापना गर्ने र देशमा तिब्र विकास र समृद्धि ल्याउने एजेण्डा आफूले बोकेको बताउनुभयो । उहाँले देशको मुख्य समस्या गरिबी र बेरोजगारी रहेको भन्दै यसलाई हटाउन आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष भट्टराईले देशलाई २० वर्षभित्र गरिबीबाट मुक्त गर्ने, रोजगारी सिर्जना गर्ने गुरुयोजना आफूहरुले बनाएको बताउनुभयो । भोट किनेर सत्तामा पुग्ने र पालैपालो देशलाई काम भइरहेको बताउनुभयो । भ्रष्टाचार अन्त्य गर्न अधिकार सम्पन्न आयोग बनाउने र सबै भ्रष्टाचारीहरुको छानविन गरेर कठघरामा उभ्याउने प्रतिवद्धता जनाउनुभयो ।

संघीयताका अपूर्णतालाई कानूनहरु छिटो बनाएर प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने बताउनुभयो । केन्द्र र प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद मोडलबाट जाने गरी आफूहरु अघि बढ्ने बताउनुभयो ।