५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


रविमाथि मानव अधिकार हनन भएको छैन, जिबीलाई नेपाल ल्याउने प्रयत्न जारी छ : गृहमन्त्री


1.352k
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मान्छेको अनुहार हेरेर अनुसन्धान नहुने बताउनुभएको छ । बुधवार बिहान रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

गृहमन्त्री लेखकले आपराधिक अनुसन्धान विधिसम्मत, कानूनसम्मत रुपले गर्ने बताउनुभयो । उहाँले अनुसन्धानमा राजनीतिक हस्तक्षेप हुनु नहुने बताउनुभयो । उहाँले शान्ति सुरक्षासँग जोडिने प्रहरी संगठनलाई दुरुपयोग गर्न नहुने बताउनुभयो ।

प्रहरी संगठनलाई कसैको पनि हित वा अहितमा अनावश्यक रुपले प्रयोग गर्न नहुने गृहमन्त्री लेखकले बताउनुभयो । अपराधमा सबैमाथि अनुसन्धान हुने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पनि सहकारीको रकम अपचलनमा अनुसन्धान भइरहेको बताउनुभयो । पछिल्लो समयमा सहकारी ठगी गर्ने, अपचलन, हिनामिना गर्ने सयौँ मान्छेमाथि अनुसन्धान भइ कारागार पठाइएको बताउनुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘मान्छेको अनुहार हेरेर अनुसन्धान हुने होइन । कसैलाई कसैसँग रिस उठेको कारणले अनुसन्धान हुने होइन । प्रमाणले जहाँजहाँ भेट्छ, प्रमाण जहाँजहाँ जान्छ, त्यहाँ अनुसन्धान अघि बढ्छ । एक जना मानिसका माथि मात्रै अनुसन्धान भएको होइन । पछिल्लो समयमा सहकारी ठगी गर्ने, अपचलन, हिनामिना गर्ने सयौँ मान्छेमाथि अनुसन्धान भएको छ । सयौँ मान्छेहरु थुनामा परेका छन् । विदेशबाट समेत मान्छेहरुलाई ल्याइएको छ ।’

गृहमन्त्री लेखकले अभियुक्त लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा कुनैपनि मानव अधिकारको उल्लंघन नभएको बताउनुभयो । उहाँले लामिछानेमाथि कुनै ज्यादतीपूर्ण काम नगरेको र शान्ति सुरक्षाको विषयलाई दृष्टिगत गरेर राति लगिएको बताउनुभयो । उहाँले काठमाडौंबाट राति नजाऔँ भन्दा गाडीमै जाने र राति नै जाने भन्ने तर चितवनबाट पोखरा शान्ति सुरक्षालाई दृष्टिगत गरेर लैजाँदा मानव अधिकार उल्लंघन भयो भन्नेकुरा बाहिरका मान्छेहरुले भनिरहेको बताउनुभयो ।

गृहमन्त्री लेखकले लाखौँ मानिसको करोडौँ रकम खानेमाथि मानवअधिकार उल्लंघन हुने तर लाखौँ मानिसको रकम गुमेकोप्रति मानव अधिकार उल्लंघन नहुने हो भन्दै प्रश्न गर्नुभयो । अनुसन्धान गर्दा कहिले प्रहरी कार्यालय, सरकारी वकील कार्यालय, अदालत घेराउ गर्ने गरेको भन्दै भीडले न्याय दिन नसक्ने जिकिर गर्नुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘त्यो शान्ति सुरक्षा भनेको सबैका लागि हो, उहाँका लागि पनि हो । अनुसन्धान त हुन्छ त । आपराधिक कार्यमा अनुसन्धान हुँदैन ? लाखाँै मानिसको अर्बौं रुपैयाँ सहकारीमा राखेको रकम अपचलन भएको छ, दुरुपयोग भएको छ, ठगी भएको छ, हिनामिना भएको छ ।’

गृहमन्त्री लेखकले गितेन्द्रबाबु राई (जिबी राई) लाई नेपाल ल्याउने प्रयत्न भइरहेको पनि बताउनुभयो । उहाँले संलग्नमाथि कारवाहीका लागि सरकार अघि बढिरहेको बताउनुभयो ।

जिबी राईलाई नेपाल ल्याउने प्रयत्न भइरहेको बताउँदै उहाँले भन्नुभयो, ‘उहाँलाई पनि फर्काउने बारेमा प्रयत्न भइरहेको छ । हामीले गर्ने कुरा गरिरहेका छौँ । त्यसका बारेमा अगाडि के हुन्छ हेरौँ । हाम्रो कोशिस जारी छ, उहाँलाई पनि ल्याउने कुरामा । जो संलग्न छ, अनुसन्धान भइरहेको छ ।’

गृहमन्त्री लेखकले प्रधानमन्त्रीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको बताउँदै त्यस क्रममा बिआआईअन्तर्गत कुनैपनि ऋण सम्झौता नभएको बताउनुभयो । उहाँले संघ प्रहरीको कानून नयाँ बनाउने, सशस्त्र प्रहरी ऐन पनि नयाँ बनाउने गरी सरकार अघि बढेको बताउनुभयो । संघको प्रहरीलाई थप व्यवस्थित, प्रभावकारी बनाउने गरी सरकार अघि बढेको बताउनुभयो । प्रहरी समायोजनको काम पनि अब चाँडै हुने प्रतिवद्धता जनाउनुभयो ।