१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025


सद्भाव आचार्यलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि


299
Shares

काठमाडौं । डिफेन्डिङ च्याम्पियन प्रो निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै एमेच्योर सद्भाव आचार्य सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्न सफल भएका छन् ।

शुक्रबार ६–अण्डर ६२ को शनदार स्कोरमा एमेच्योर सदभाव आचार्यले समग्रमा १५–अन्डर २५७ सहित करियरको चौथो उपाधि आफ्नो नाममा लेखाए । उनले काठमाडौ ओपनमा भुवन नगरकोटीले बनाएको १४–अन्डर २५८ को रकर्ड तोडेका हुन् । उपाधि रक्षा गर्ने दाउमा रहेका निरज तामाङले ३–अन्डर ६५ सहित समग्रमा १३–अन्डर २५९ को स्कोरमा दोस्रो भए । उनले प्रो तर्फ भने पहिलो स्थान प्राप्त गर्दा १ लाख २५ हजार नगद पुरस्कार प्राप्त गरे ।

अन्तिम दिन शुक्रबार खेलको शुरूवात गर्दा सदभाव निरज भन्दा एक स्ट्रोकले पछि थिए । शुक्रबार फ्रन्ट नाइनको खेल सकिँदा पनि निरजसँग एक स्ट्रोकको अग्रता नै थियो । दुवैले फ्रन्ट नाइन ४–अन्डर ३० मा सकाए । सद्भावले पहिलो, चौथो, पाँचौ र छैटौं होलमा बर्डी प्रहार गरे । निरजले पनि पहिलो, दोस्रो, चौथो र सातौं होलमा चार बर्डी नै प्रहार गरे ।

११ औं होल टर्निङ प्वाइन्ट बन्यो । सदभावले बडी प्रहार गरे भने निरजले बोगी खेले । यसपछि सदभावले एक स्ट्रोकको अग्रता बनाए । सदभावले यसपछि १३औं होलमा पनि एक सट बचाएसँगै दुई स्ट्रोकको अग्रता कायम गरे । यही अग्रतालाई निरन्तरता दिंदै ब्याक नाइन २–अन्डर ३२ मा सकाए र उपाधि जिते। निरजले भने ब्याक नाइन १–ओभर ३५ मा पूरा गरे । सदभावले आज पनि बोगीरहित प्रदर्शन गरे ।

दिनेश प्रजापतीले अन्तिम दिन ३–अन्डर ६५ को स्कोर निकाल्दै समग्रमा ८–अन्डर २६४ सहित तेस्रो भए । उनले ८५ हजार नगद हात पारे । एमेच्योर राहुल विके समग्रमा ६–अन्डर २६६ सहित चौथो भए । उनले अन्तिम दिन ४–अण्डर ६४ स्कोर दर्ज गरे । समग्रमा चौथो भएका उनी एमेच्योरतर्फ भने दोस्रो भए । उनले आफू धेरै भाग्यमानी भएको बताए । प्रोफेनल प्रतिष्पर्धासँग खेल्दा अनुभव बटुलेको बताए ।

चार दिने प्रतियोगितामा कुल ७ लाख ३५ हजार नगद पुरस्कार राशी रहेको थियो । कट बनाएका २१ जनाले नगद पुरस्कार प्राप्त गरेका छन् ।