५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनका चुनौतिहरु डर लाग्दा छन् : वनमन्त्री ठकुरी


195
Shares

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले पर्वतीय क्षेत्रमा सामना गरेका जलवायु परिवर्तनका चुनौतिहरु डरलाग्दो रहेको बताउनुभएको छ ।

बुधबार ललितपुरमा अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले पर्वतीय क्षेत्रमा सामना गरेका जलवायु परिवर्तनका डर लाग्दा चुनौतिहरु रहेपनि सम्बोधन गर्न नसकिने किसिमका नरहेको उल्लेख गर्नुभएको हो ।

मन्त्री ठकुरीले पर्वतीय इकोसिस्टमको संरक्षण गर्नका लागि पर्वतीय समुदायको क्षमता विकास र आवश्यकता पहिलो प्राथमिकता भएको बताउनुभयो । उहाँले हिमाली क्षेत्रको जैविक विविधता संरक्षण, स्थानीय समुदायको जीविकोपार्जनमा टेवा दिन तथा उनीहरुको जलवायु उत्थानशील भविष्यको लागि एकतावद्ध भएर काम गर्न आग्रह गर्नुभयो ।

मन्त्री ठकुरीले जथाभावी गरिएका भौतिक विकास, वन अतिक्रमण, वन फडानी, मानव-वन्यजन्तु द्वन्द्वले हिमालहरु जलवायु जोखिमको चपेटामा परेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनका कारण मौसममा आएको परिवर्तनले बाढी, पहिरोजन्य घटनाहरुमा वृद्धि भएको र अर्थतन्त्र धरापमा परेको उल्लेख गर्नुभयो ।

मन्त्री ठकुरीले पर्वतीय संरक्षणको कार्य एक्लो प्रयासले सम्भव नरहेकाले सबै मिलेर पर्वतहरुको संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले जलवायु उत्थानशील भविष्य हासिल गर्न सरकार, अन्तर्राष्ट्रिय संस्थाm स्थानीय समुदाय, अनुसन्धानकर्ता, नागरिक समाज र निजी क्षेत्रले हात मिलाएर काम गर्नुपर्ने बताउनुभयो ।