२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025


प्रमुख सूचना आयुक्त र आयुक्तहरुद्वारा शपथ ग्रहण


273
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई शपथ ग्रहण गराउनुभएको हो । प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आचार्यले नवनियुक्त आयुक्तहरु गगन विष्ट र दुर्गा भण्डारीलाई शपथ गराउनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, मन्त्रालयका सचिव राधिका अर्याल लगायतको उपस्थिति रहेको थियो । शपथपछि शुभकामना दिँदै प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको मौलिक हकका रुपमा सूचनाको हकको कार्यान्वयन र उपयोगका लागि आयोगको भुमिका प्रभावकारी हुनुपर्ने बताउँदै असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अलमल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने बताउनुभयो ।

उहाँले लोकतन्त्रको उपयोग गर्दा आफ्ना न्यायोचित हक, अधिकारको उपयोग गर्नुपर्ने तर लोकतन्त्र र अराजकतालाई छुट्याएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।