७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


‘मुलुकमा सुशासन कायम गर्ने कर्मचारी प्रशासन बनाउन आवश्यक’


312
Shares

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले मुलुकमा सुशासन कायम गर्ने कर्मचारी प्रशासन बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रश्तावकर्तासँगको छलफलमा भाग लिँदै सांसद भट्टराईले यस्तो बताउनुभएको हो ।

सांसद भट्टराईले मुलुकमा सुशासन कायम गर्नु आजको मुख्य चुनौति भएको उल्लेख गर्दै त्यसका लागि सरकारसँग सहकार्य गर्नसक्ने कर्मचारी प्रशासन बनाउन आवश्यक रहेको बताउनुभयो । सुशासन कमजोर हुँदा राज्य र नागरिकको बीचको दूरी बढ्दै गइरहेको उहाँको भनाइ छ ।

सांसद भट्टराईले नेपाल भूराजनीतिक अवस्थामा भएकोले दुनियासँग प्रशासनिक विषयमा डिल गर्ने र विश्व बजारमा प्रतिष्पर्धा गर्ने खालको कर्मचारी प्रशासन बनाउन आवश्यक रहेको समेत बताउनुभयो । उहाँले कर्मचारीको नियुक्ति, सरुवा र बढुवामा मापदण्डहरु पालना नभएको उल्लेख गर्दै मापदण्ड विपरित कामहरु भइरहेको बताउनुभयो ।

स्वच्छ, पारदर्शी र जवाफदेही कर्मचारी प्रशासन संघीय निजामति विधेयकको उद्देश्य हुनुपर्नेमा उहाँको जोड थियो ।

बैठकमा नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद शेरबहादुर कुवँरले कर्मचारीहरुलाई सेवा डेलभिरीमा विश्वासिलो ढंगले काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले मापदण्ड कार्यान्वयन नहुँदा कर्मचारी प्रशासन सरुवा, बढुवा प्रक्रियाले शिथिल परेको बताउनुभयो । सरकारका उच्च तहका सचिवहरु वर्षमै ५/६ पटक सरुवा भएका उदाहरणहरु रहेको उल्लेख गर्दै सरुवा प्रणालीमाथिको राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने बताउनुभयो ।

अधिकांश संशोधनकर्ताहरुले कर्मचारी प्रशासनमा रहेका विद्यमान समस्याहरुको समाधान हुनेगरी विधेयक ल्याउनुपर्नेमा जोड दिनुभयो ।