२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025


अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेट


130
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सोमवार अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानी लगायतका विषयमा छलफल भएको हो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गर्नुभएको छ । अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एशियाका केही देश आर्थिक रुपमा समस्या परेपनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

अर्थमन्त्री पौडेल र सहायक विदेशमन्त्री लुबीचको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव धनिराम शर्माले एमसिसी परियोजना र केही युएसएआईडीको माध्यमबाट नेपालमा सञ्चालित विभिन्न योजनाहरुलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भएको बताउनुभयो । उहाँले अमेरिकी विकास वित्त संस्थाबाट नेपालमा निजी क्षेत्रमा शुरु भएको लगानीलाई कसरी बिस्तार गर्ने भन्नेबारेमा पनि दुई नेताबीच छलफल भएको बताउनुभयो ।