काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसले गर्दा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र कोशी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही र बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । मध्य र पुर्वी तराइका धेरै भू–भागमा हुस्सु र थोरै भू–भागमा कुहिरो लागेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुइ स्थानमा हल्का वर्षा पनि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भु–भागका थोरै स्थानहरु हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै आज राती कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्