८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


प्रधानमन्त्री ओली स्वदेश फर्किंदै


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्कँदै हुनुहुन्छ ।

प्रधानमन्त्री ओली बिहीबार दिउँसो साढे दुईबजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा यही मंसिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेइजिङ जानुभएको थियो । भ्रमणको अवसरमा नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कसहित विभिन्न महत्वपूर्ण सम्झौता भएका छन् ।

नेपाल र चीन सरकारबीच हिजो ‘फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसन’ मा हस्ताक्षर भएको छ । नेपालले प्रस्तुत गरेको ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा संशोधन गरेर हस्ताक्षर भएको हो । फ्रेमवर्कको भाषामा अनुदानको स्थानमा सहायता (एड) शब्द राखेर सहमति भएको बुझिएको छ । यसले नेपाललाई चिनबाट अनुदान सहायता वा सहुलियतपूर्ण ऋण लिने बाटो खुल्ला राखेको छ ।

बुधबार भएको सहमतिपत्रमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका निमित्त सचिव अमृतबहादुर राइ र चीनको तर्फबाट नेशनल डेभलपमेन्ट रिफर्म कमिसनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गर्नुभएको हो । योसँगै नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतका परियोजना अघि बढ्ने भएका छन् ।