७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


लुम्बिनीविरुद्ध विराटनगरको जित


1.157k
Shares

काठमाडौं । लोकेश बमको बिस्फोटक ब्याटिङमा लुम्बिनी लायन्सलाई २ विकेटले हराउँदै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा विराटनगर किंग्सले पहिलो जित गरेको छ ।

जितको लागि १९२ रनको विशाल विजय लक्ष्य पछ्याएको विराटनगरले एक बल अगाडि ८ विकेटको नोक्शानीमा रोमाञ्चक शैलीमा पूरा गर्‍यो ।

ओपनर इस्मत अलाम रनको खाता नखोली आउट भए । दोस्रो चिकेटको लागि मार्टिन गपटिल र लोकेश बमले ६२ रनको साझेदारी गरे । मार्टिन २८ रन जोडेर आउट भए । बसिर अहमदले ४० रन बनाए । लोकेश भने क्रिजमा जमे । उनले बिस्फोटक ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले । उनको इनिङसले विराटनगरलाई जिततर्फ डोर्‍याउन मद्दत पुग्यो । उनले ४७ बलको सामना गर्दै ३ चौका र ६ छक्कासहित ७१ रनको पारी खेले ।

लोकश आउट हुँदा विराटनगरले ६ विकेटको नोक्शानीमा १६३ रन बनाएको थियो । लगत्तै प्रतिश जिसी ६ रनमा आउट हुँदा विराटनगर दबाबमा आएको थियो । अन्तिम ६ बलमा जितको लागि १६ रन जरुरी थियो । यो ओभरमा पहिलो दुई बल विवेक यादवले वाइड फालेपछि पहिलो बलमा सन्दीप लामिछाने आउट भए । तर यसपछि क्रिस सोलले एक छक्का र दुई चौका प्रहार गर्दै नाटकीय शैलीमा विराटनगरलाई २ विकटको जित दिलाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रनको विशाल योगफल बनायो । जारी एनपिएलमा कुनैपनि टिमले बनाएको यो उच्च स्कोर हो । ओपनर आशुतोष घिरोहिया १५ र अर्जुन साउद १७ रनमा आउट भए । यसपछि कप्तान रोहित पौडेल र टम मोरेजले आक्रामाक ब्याटिङ गरे । यी दुईले तेस्रो विकेटको लागि ६७ रनको साझेदारी गरे ।

रोहित अर्धशतकबाट मात्र चार रनले चुके । ठूलो सट खेल्ने क्रममा उनी आउट भए । उनले २९ बलको सामना गर्दै ४ चौका र २ छक्काको मद्दतले ४६ रन जोडे । टम ३० रनमा आउट भए । साद बिन जाफरले १५ र सन्दीप जोराले १२ रन बनाउँदै पबिलियन फर्किए । आठौं क्रमका ब्याटर विवेक यादवले विस्फोटक ब्याटिङ गरे ।

७ बलको सामना गर्दै ३ छक्कासहित अविजित १९ रन बनाए । लुम्बिनीका चार खेलाडी रन आउट भए । विराटनगरले २९ रन एक्स्ट्रा दिएको थियो । बलिङमा सन्दीप लामिछाने, ईस्मात अलाम र राजेश पुलामीले एक-एक विकेट लिए । जारी प्रतियोगितामा सन्दीपले लिएको यो पहिलो विकेट हो । तीन खेलमा पहिलो जित निकालेको विराटनगरलाई पहिलो जितले राहत मिलेको छ । लुम्बिनी भने पहिलो खेलमा पराजित भयो ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । काठमाण्डौ पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो । कर्णालीले भने लगातार दोस्रो हार बेहोरेको छ । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।